Sunday, September 30, 2012

मान्छे हुन सकिन


मेरै हातले खारेको सुन र पानीले
मेरै हातले सिँगारेको मुर्तिलाई
मै बाट चोख्याएर
उनीहरुले आफ्नु बनाए,
अनि फेरी त्यो
कहिले मेरो हुन सकेन | 
मैले बनाएको मुर्ति
भगवान भयो,
म दास भएँ |
मेरै सुनले छुने पानी
गंगाजल भयो,
म फोहर नालीको 
दुर्गन्धित पानी भएँ |
उनीहरुले आफुलाई 
भगवान बनाए,
र मेरो भाग्य लेखे |
म बिचरा....
आफ्नै भाग्य लेख्न सकिन |
मान्छे सम्म हुन सकिन |

_______गोपाल अर्याल_______
झन्नै दुई वर्ष अगाडी, स्थान: दोलखा, सुन्द्रावती |
[सन्दर्भ: नाटक निर्देशन]

म यसरी लेख्छु "गजल"

भावनालाई शब्दभित्र ढालेर लेखेँ |
कहिले अध्यारोमा बत्ती बालेर लेखेँ |

कहिले काहिँ सोच्दा सोच्दै आधि रात हुन्थ्यो
उठेँ ओछ्यान बाट सिरक फालेर लेखेँ |

टुक्रीएझैँ लाग्थ्यो मन, दुख्थ्यो सम्झनाले
बुझाउन चित्त मन यो टालेर लेखेँ  |

बितेका ती पलहरु याद आएपछि
लिएँ कलम शब्द शब्द चालेर लेखेँ |

सम्झे गजलको स्वरुप दिलाउछु अब
अनि काफिया र रदिफ हालेर लेखेँ |

_____________गोपाल अर्याल____________
लेखन मिति: २०६३-११-०२, रविभवन, काठमाडौँ !

Wednesday, September 26, 2012

म र काठमाडौँ

लेख्ने बेलामा सधैँ समस्या आउछ | के लेखौँ के लेखौँ थाहै हुँदैन | त्यसो भन्दा पनि सुरुवात नै थाहा नभएको हो | हुन त कुनै कुराको सुरु र अन्त्य नै हुँदैन जस्तो पनि लाग्छ कहिले काहिँ तै पनि |
    काठमाडौँ धेरैको सपनाको सहर, कसैको तितो भोगाई, कसैको मिठो पनि होला ! भोगाई आ-आफ्नो | काठमाडौँ आएपछि आँफुमा तिब्र परिवर्तन भएको पाउँदैछु म | सकारात्मक या नकारात्मक म आफैले बुझ्न नसक्नु आफैँ बिचरा बन्नु हुनसक्छ तर यथार्त यहि हो | काठमाडौँ आएपछिका धेरै परिवर्तन र मैले भोगेको जीवनलाई मैले "माइन्ड योर हेड" को लागि सुम्पिसकें तर त्यति मात्र प्रशस्त नहुन सक्छ |
काठमाडौँ छिर्दाको अनुभूति, मनको आशा र सपना जिन्दगीको, डर साहसको, आभाष एक्लोपनाको बिस्तारै सकिदै गएको हो की जस्तो लाग्छ |
जंगल हो की बस्ति हो मान्छेको छुट्याउनै गाह्रो | आधिक्तम मान्छेहरु व्यक्तिवादी | सायद अब त म पनि |
अनुभव एक्लो पनाको, अनुभव भोकको, अनुभव लतको, अनुभव सेक्सको, अनुभव प्रेमको, अनुभव धोकाको, अनुभव कलाको, अनुभव कामको, अनुभव फरक संस्कृतिको, अनुभव राजनितिक अवस्थाको, अनुभव अभावको, अनुभव भरिपूर्णताको, अनुभव सुखको, अनुभव दुखको, समुहको, साथीको र सम्बन्धको | अनुभव कति कति काठमाडौँले सिकाएको छ | धन्यवाद काठमाडौँलाई ! कति सोच फराकिला भएका छन् | कतै सायद साँघुरिदै होलान् |
ठुलो कुरा म किन लेखुँ ? कस्को लागि लेखुँ ? हिजो कुनै सुन्दर केटीकोअगाडी पर्दा पनि रातो पिरो हुने मान्छे म | आज म सँग कुनै स्त्री संगको सम्बन्धमा दुइ शरीर एक बनाएका थुप्रै अनुभव छन्, काठमाडौँले दिएको | बोल्नु, हाँस्नु, हात मिलाउनु, अँगालो मार्नु सबै अब सामान्य भै सके | नाटक सिक्दा र गर्दाका थुप्रै अनुभव |
कसैले हाँस भन्दा हाँस्नु पर्ने, रो भन्दा रुनु पर्ने | कसरी हाँस्नु, कसरी रुनु, कसैले भन्ने बित्तिकै किन मान्नु ?
भन्ने सोच मनमा आएर लाज लाग्नु र हाँस्न नसक्नु | कुरा सामान्य हो, जीवनमा को हाँस्दैन, को रुँदैन तर कसैले भनेको भरमा वा कसैको निर्देशनको भरमा हाँस्नु र रुनु आत्मसम्मानपूर्ण होइन  भन्ने लाग्दो हो सायद मलाई त्यति खेर जबकी अहिले जीवनलाई त्यसैमा ढाल्नु परिरहेछ |
व्यक्तिगत सामान अरुलाई छुन पनि नदिने मेरो स्वभाव मेरा साथीहरुले मेरो मोजा चोरी चोरी लगाएर परिवर्तन गरिदिए | यी परिवर्तन सँगै विचार (सोच) मा पनि परिवर्तन हुँदै गयो | विचार फ्यासनको, विचार सेक्सको, विचार राजनीतिको, विचार कलाको, विचार प्रेमको, विचार शैलीको, विचार धर्मको, विचार आस्थाको, विचार विचारको, सबै परिवर्तन भएका छन् |
२७ चैत्र २०६५, अनामनगर बाट स्वयम्भु बसाईं सराई | कोठा अफिसले दियो | एक बर्षे बसाइ अनामनगरको धेरै उपलब्धिमूलक र केहि अवरोधात्मक, मिश्रित | यहाँ सबै यहुदीहरु बस्छन् | म बाहेक, म आफुलाई हिन्दु भन्छु | आउने आइतबार अरु सत्र जना यहुदीहरु आउने छन्, संसारका विभिन्न ठाउँ बाट | मेरो बसाइ उनीहरु सँगै हुनेछ तर मलाई लाग्छ मलाई एक्लिन समस्या हुने छैन | बिहिबार वा शुक्रबार हामी यात्रामा निस्कने छौँ | शिल्पी नाटक समुहको पुर्वान्चल नाटक यात्रा पन्ध्र दिनको लागि | यात्रा धेरै रमाइलो हुने आशामा छु | त्यसैको लागि कार्यशाला चलिरहेको छ ठमेलमा | सायद फर्किएपछि मात्र कोठा व्यावस्थापनको लागि काम गर्छु होला | यहाँ सर्नुको मेरो एउटा प्रमुख उदेश्य एक्लिन चाहँदा गाह्रो नपरोस् भन्ने हो | मिल्छ भन्ने मा विश्वस्त छु | सपना धेरै छन् | उदेश्य अझै थाहा छैन | भोलि सुन्दर हुनेछ भन्ने मा आशा सबैको हुन्छ | मेरो पनि छ | आशावाद जिदावाद ! भैरव अर्यालको एउटा वाक्य चोरें है 'भोलिवाद जिन्दावाद !!!

____________________________गोपाल अर्याल____________________________
                                                लेखन मिति: २०६५-१२-२७

Tuesday, September 25, 2012

माछो माछो भ्यागुतो

A short Movie about climate change. Give a look.  



New Nepali Movie "World Cup In Nepal"


The First Nepali Movie about Football craze in Nepal with a typical Nepali Story. And the first feature lenth Movie I have played as a main character. Releasing Soon.... I bet you will Like the Movie.





Tuesday, September 18, 2012

मलामीको लाममा लासहरु

सुन्द्रवातीमा मैले खाना खाने घरका पक्वाल बाजे ७२ वर्षको उमेरमा आज मरे | म अहिले मलामीको लाम सँगै पछि पछि दौडिरहेको छु | सयौँ मान्छे दाउरा काँधमा बोकेर लासको पछि पछि दौडिरहेका छन् | मलाई यस्तो लागिरहेछ 'यी सबै आफ्नो सरीर जलाउन आफ्नो चिहानमा एउटा दाउरो थपिरहेका छन् | मलाई लासहरु  नै  मलामीमा  हिडीरहे जस्तो लाग्यो | म आफैँ पनि धेरै हतारिएर हिडीरहेको  अनुभूति भयो मलाई  | जिन्दगी देखि टाढा, मृत्यु नजिक या जीवनकै नजिक जे भने पनि होला |
दृश्य अवश्य पनि रहर लाग्दो छैन | रमाइलो छैन | नरमाइलो पनि छैन | शान्त छ | म छिटो छिटो हिडीरहेको छु | मलाई एक्कासी रफ्तार कम गर्न मन लाग्छ | म बिस्तारै हिड्न थाल्छु | कारण, छिटो हिड्दा मृत्युको यात्रा नजिकिन्छ भन्ने डर लाग्यो | म बाँच्न चाहन्छु |
घटनाले कोहि पनि अचम्मित छैन | सबै सामान्य हो, प्राकृतिक हो | धर्ममा, भगवानले दिएको बाटो | 
मान्छेहरु हिजो पनि उदासिन थिए, आज पनि उदासिन छन् | भोलि त उदासिनता झन् बढ्ने वाला छ किनकी समाज जटिल बन्दैछ र मान्छेहरु व्यक्तिवादी | हाइटीमा भूकम्पले मान्छे मरे | भारतको हवाईजहाज दुर्घटनामा सयौँ मरे | तर मलाई थाहा छ, त्यो भन्दा बढी मलाई मेरो खुट्टाको औंलामा लागेको सानो चोटको चिन्ता छ | म पहिला आफुलाई सोच्छु त्यसपछि मेरो परिवार, गाउँ वा आफन्ती, त्यस पछि छिमेकी जिल्ला, अनि आफ्नु देश | गर्दै जाँदा कुनै अर्को देशको मान्छेको दुख र पीडाले मलाई छुन सम्म नि छुदैन | म अरुको पिडा र भोगाई प्रति उदासिन छु | सबै उदासिन छन् | संसार उदासिन छ |
म नाटक गर्ने कलाकार | मंचको भूमिका अरुलाई सिकाउँछु | जिन्दगी एउटा रंगमंच हो | मानिस जन्मना साथ जिन्दगीको रंगमंच मा इन्ट्री मार्छ र अभिनय सिध्याएर मंच बाट बाहिरिन्छ | पक्वाल बाजेले पनि जिन्दगीको रंगमंचमा धेरै उकाली ओराली भोगे | जीवनका धेरै अनुभुतिहरुको अभिनय सकेर आज मन्चबाट बाहिरिएका छन् | बाटो हाम्रो पनि त्यहि हो | तर जिन्दगी नाम दिईएको यो मन्चमा रहुन्जेल अभिनय गर्न छोड्नु भएको छैन | धेरै आफ्नो लागि र केहि (थोरै) अरुको लागि यो रंगमंचमा रहुन्जेल बाँच्नु छ, अभिनय गर्नु छ, जसरि पनि |
मैले आफैले कुनै दिन लेखेको थिएँ "म मृत्यु हेर्न हरेक दिन पशुपती जान्छु तर म त त्यहाँ जीवन भेट्टाउँछु" |
पक्वाल बा अब केहि क्षणमै खरानी हुँदैछन | उनका सपनाहरु सायद तुहिदै होलान् | साँच्ची सपना पाल्नु पनि बेकार रहेछ जस्तो लाग्दैछ आज मलाई | म हेरिरहेको छु, पक्वाल बालाई घाटमा ल्याउँदा उनले आफु सँग केहि पनि ल्याउन पाएनन् | पक्वाल बाले सजाएका सपना कस्का लागि थिए होलान् ! सायद उनि ठान्थे यी सबै आफ्नै लागि थिए | तर आज उनि सँग सपना छैनन् | रहर छैनन् | उदेश्य छैनन् | पक्वाल बा आज शान्त छन् एकदमै शान्त !!
उनको आत्माले शान्ती पाओस् !!!

_______________गोपाल अर्याल______________
लेखन मिति: २०६७ -०८-१७, सुन्द्रावती, दोलखा




म आफैँ भित्र हराउँछु

म लफुन्गो भएँ, हावा भएँ | मलाई देखेर, मेरो व्यवहारलाई देखेर अचम्म मान्नेहरु आफैँ सँग प्रश्न गर्छन् "यस्तालाई जन्म दिने बाबु आमा कस्ता होलान्न्?" साँच्चै कस्ता होलान् ? मैले जान्दा सम्म मेरो जन्म हुन मा विर्यदान गर्ने मेरो बाबुलाई मैले देखेको छु र चिनेको छु तर जन्म दिने आमा कस्ती होलिन्? मैले पनि चिनेको र देखेको छैन | मान्छेहरु आ-आफ्नै अड्कल लागाउदा हुन् मलाई जन्म दिने आमा बाबुको बारेमा | धन्य भगवान मलाई सोध्दैनन् | सोधेको भए म के जवाफ दिन्थेँ? त्यो भन्दा भावुक र निरिह हुने अर्को अवस्था नहुँदो हो सायद !

यो बाटो कहाँ जान्छ?
होइन होला !
जाम न त |
म त ढिडो खान्न |
चुरोट?
पिउँछु |
रक्सी?
पिउँछु |
कलाकारपो हुँ त |
जीवन बाँच्नु पर्छ होइन र ?
खोई...........?
मर्नु नि !
मलाई सबले हेला गर्छन् |
के गर्नु त काखमा बोक्नु ?
बच्चा हो र?
लाज लाग्दैन?
मान्छे त रमाइलै हो |
अलि बढी हावा |

मन भने पनि दिमाग भने पनि कहिल्यै कसैको खालि हुँदैन | म कसरी फरक हुनु? जब खोला र जंगलमा हिंड्छु, कविता आउँछ, लेख्न अल्छी लाग्छ | गाडीमा यात्रा गर्दा नाटकको अवधारणा आउँछ, ओर्ले पछि बिर्सिन्छु | दिसा गर्दा समेत रेडियो कार्यक्रमको अवधारणा तयार हुन्छ | योजना तयार गरेर कार्यक्रम चलाउने अठोट चर्पिमै गर्छु, बाहिर आउँछु अर्कै काम अगाडी आइलाग्छ, गर्न थाल्छु | पुराना सबै बिर्सिन्छु | कविता खोलामै मर्छ | नाटक गाडी भित्रै सकिन्छ र नाटककार पनि मर्छ | एउटा होनहार रेडियो कार्यक्रम प्रस्तोता चर्पी भित्रै मर्छ | बाहिर फेरी सपना मात्र हो जीवित हुने | म आम मान्छे हुनुमै चित्त बुझाउँछु |

__________गोपाल अर्याल_________
       लेखन मिति: २०६६-०७-२८,  पात्ले, धादिंग











Tuesday, September 11, 2012

दुरी

_____________________गोपाल अर्याल

सभ्यतालाई लात मारेर
निर्वस्त्र, नांगिएको
तिम्रो तस्विर,
नसाको जोस् मा
असिमित बेग मा
सडकैसडक
दौडिएको तिम्रो जिन्दगी ,
अस्तित्व गुमाएको
पछाडी फर्किएको तिम्रो मुहार
मानव सभ्यताको
कसरी हुनसक्छ ?
जबकी वर्षौ वर्ष सम्म
स्वार्थ, इर्ष्या र लालचमा
कुहिएर डुंगडुंग्ति गन्हाएको
तिम्रो मन
उदार हुनै सक्दैन |
मानवीय मन हुनै सक्दैन |
अरबौँ मनहरुको बिचमा
एउटा मात्र पनि
मन नअटाउने
तिम्रो विचार
खुल्ला हुनै सक्दैन |
तिम्रो संकुचित विचार भित्र
मेरो मन, उसको मन
मानव मुटु, मानव विचार
र अस्तित्व
केवल सुन्य हुनेछ ,
अर्थहीन हुनेछ |
हामी रुँदा तिमी हाँस्नेछौ
खुसीले !
हामी हाँस्दा तिमी रुनेछौ
इर्ष्याले !
तिम्रो पिडा हाम्रो हर्ष मा
तिम्रो हर्ष हाम्रो पिडामा
नजिक
तर पनि धेरै टाढा
हामी बिचको दुरी ||
_______________________
लेखन मिति: २०६२-०५-२०
झापा, नेपाल 


Monday, September 10, 2012

A short movie "DHULO" (धुलो) played by me



सरोज महतोले निर्देशन गर्नुभएको यो लघु चलचित्र मा मैले पनि अभिनय गरेको छु | चाडै "एकादेशमा" भन्ने लघु चलचित्र महोत्सवमा हेर्न पाइने छ | आशा छ मन पराउनु हुनेछ | हामी फरक काम गर्न मन पराउछौँ |

सहयात्रा

_____________________________गोपाल अर्याल

एउटा आलिशान महल भित्र,
मस्तिष्क सुकाउँदै,
सरीर कुहाउदै,
आत्मा गलाउँदै
काँचका एस्ट्रे भरि
विष पिउँदै
जीवन ओकल्दै
फ्याक्दै छ ऊ |

हरेक दिन,
जीवन खाली हुन्छ
एस्ट्रे भरिन्छ
र फ्याकीन्छन्
आयुका अंशहरु
एस्ट्रेको खरानी सँगै |
हरेक दिन

हरेक दिन
जिउने बहानामा
विष पिएर,
मर्दै जिउँदै छ,
जिउँदै मर्दै छ |
जीवन खियाउँदै छ
तर निष्कृय छ
गती सुन्य छ
उसको जीवन !

हरेक दिन
एक्लो
साथ केवल एस्ट्रेको,
र विषको ठुटाको
उसको सहयात्रा |

ऊ सधैँ तानिरहन्छ
कारण थाहा छैन
सायद जिउन
तर मिर्त्युवरण गरिरहेछ
तै पनि जसोतसो
जीवन धानिरहन्छ
विष तानिरहन्छ |
जिउँदो मृत्यु !!!
उसको सहयात्रा !!!

__________________________
लेखन मिति: २०६२-०६-१५, झापा, नेपाल