Saturday, April 27, 2013

गजल


म हुँ घाम तिमी जुन सत्य धरोधर्म !
म सुनार तिमी सुन सत्य धरोधर्म !

आधा छु म, मात्र तिमी सँगै हुन्छु पुरा
म हुँ सब्जी तिमी नुन सत्य धरोधर्म !

तिमी छौ र पो मेरो ढुकढुकी चल्दैछ
म हुँ मुटु तिमी खुन सत्य धरोधर्म !

हामीलाई संगसँगै गाउँछन् यी मान्छे 
म हुँ गीत तिमी धुन सत्य धरोधर्म !

___________गोपाल अर्याल__________
__________मिति: ११ बैशाख २०७०_____

Sunday, April 21, 2013

कविता ! मलाई डिभोर्स नदेऊ !


कविता !!!
मलाई डिभोर्स नदेऊ !

म छट्पटाइरहेछु
किन टाढिन खोज्छौ ?
म त तिम्रो प्रेमी
तिम्रो साधक
म कदाचित पूर्ण हुनेछैन
तिमी बिना

आउ ! म सँग
हामी अथाह प्रेम गरौँला
थुप्रै सन्तान जन्माउँला |
यी हरिया बन पाखामा
हाम्रो माया मौलाउन पाओस् |
हावा सँगै उडुं
नदि सँगै बगौं !
हाम्रा सन्तानले संसार ढाक्नु पर्छ,
कविता !!!
मलाई डिभोर्स नदेऊ !

जीवनले मलाई ठग्दै गर्दा
म आफैँ मर्दै गर्दा
मैले तिमीलाई
जीवन दिएको थिइन र ?
म विक्षिप्तहुँदा पनि त
तिमी मात्र एक साहारा थियौ

कहिले तिमीले
मलाई बाँच्ने बहाना दियौ
कहिले मैले
तिमीलाई जीवन दिएँ |
ढुंगाको भर् माटो
माटोको भर् ढुङ्गो
हामी भएनौँ र ?

तिम्रा अनेक रुपहरु
सिँगारेको छु मैले
आफुलाई रित्याएर
तिमीमा खन्याएको छु
कति पल्ट !
बिर्सियौ ??

म अतित मात्र सँगालेर
बाँच्न सक्दिन
कविता !!!
मलाई डिभोर्स नदेऊ !!

_________गोपाल अर्याल________
________मिति: २०७०/०१/०८_____

Saturday, April 13, 2013

शीर्षक छैन !


ओहो मान्छे !
ऊ अचानक चिच्यायो
रमायो
र हाँस्यो !
मलाई पनि हाँस्न मन लागेको थियो
उसको भ्रम र मुर्खता देखेर
मैले त दैत्य देखेँ
खोई उसले कहाँ देख्यो मान्छे !
मैले सुनेको थिएँ
इतिहाँस
मेरो वंश हत्याको
म डराएँ !
मैले भनिन छु यसलाई
यी दैत्यहरु बारे 
एक जुग सँगै उभिदा पनि,
ऊ अझै यिनीहरुलाई
मान्छे भन्दो रहेछ !
डरले
मेरो सरीर काँप्यो
सरिरका पातहरु झरे
म नाङ्गिएँ !
म भाग्न चाहन्थे |
आज पहिलो पटक
मलाई सृस्टिकर्ता सँग रिस उठ्यो
मेरो खुट्टा जमिनमा गाडिदिएकोमा
मलाई खेद भयो
वृक्ष भएर जन्मनु परेकोमा |
म भाग्न सकिन
अनि तुरुन्तै उनीहरुले मलाई
एउटा लासमा परिवर्तन गरिदिए !

____________गोपाल अर्याल________
            २/१२/२०१३