'ग्रीन हाउस होटेल, लालगढ' लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई
भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने
बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि
भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक
केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए |
महिला शौचालय थिएन | यो केटोले महिला शौचालय किन खोज्यो भनेर मेरो नियत माथी संका
गर्नुहोला फेरी, मेरो पछि पछि मेरी महिला साथी थिइन् उनको लागि पनि शौचालय पहिलो
आवश्यकता थियो त्यतिखेर | एकछिन् उनलाई वरै उभ्भिन लगाएर मैले यसो नजर घुमाएपछि
ढोका बन्द गर्न मिल्ने दुई कोठे शौचालय फेला पारें तर त्यहाँ पुग्न केटाहरुको
पम्पिसेट लाइन हुदै जानु पर्थ्यो | हेर्दिन भन्दा पनि त्यो दृश्य देखिन्थ्यो |
अवस्था देख्दा सारै रिष उठ्यो तर यात्रामा यस्तै हो | सधैलाई होइन भनेर चित्त
बुझाएँ अनि मेरी महिला साथीलाई ती केटाहरुको माझबाट स्कर्टिंग गराएर बन्दकोठे
शौचालय सम्म पुर्याएँ अनि आफु पनि लागेँ भित्ता तिर | लौ अब ढुक्क भयो |
भुँडी-भण्डार खालि गर्दाको आनन्द त मैले बखान गरिरहनै नपर्ला | हाम्रो शरीर एउटा
फिल्टर मात्र हो जस्तो लाग्छ कहिले काहिँ मलाई | माथिबाट भर्यो तल बाट खालि हुन्छ,
निरन्तर | फरक यत्ति हो फिल्टरबाट चुहिने पानी सफा र पवित्र मानिन्छ तर सरीर बाट
चुहिने अपवित्र |
अब फिल्टर खालि भएपछि
भर्नु पनि त पर्यो | मेरी साथीले भात नखाने निर्णय सुनाईन् | मलाई जस्तै भए पनि
भात नभई नहुने, भाते म | नाम मात्रको भए पनि मलाई नेपाली खाना चाहिन्छ | यात्रामा
बाटामा खुवाइने खाना अत्यन्त तल्ल्लो स्तरको हुन्छ भन्ने जान्दा जान्दै म त्यहि
खान भातघरमा छिरेँ | मेरी साथी चाउचाउ अन्डा खाना भन्दै नजिकै रहेको भातघर बाहिरको
एउटा पसलमा छिरिन् | खानाको भाउ नसोधीकन खाना खान बसेँ | छरपष्ट घिनलाग्दो देखिने खाना
र केहि नाम मात्रका तरकारी र अचार हालेको एउटा ठुलो थाल ल्याएर एउटा केटोले मेरो
अगाडी टेबलमा फ्याकेर हिड्यो | निरिह कुकुर जस्तो फ्याकेको खाना टिप्नु सिवाय अरु
उपाय थिएन त्यहाँ | केटो फेरी आयो र एउटा कचौरो राखेर हिडिसकेको थियो, मैले
सोधिहालेँ "के हो यो?" "मासु" उसले उत्तर दियो | यसो कचौरामा
हेरेँ | नबास्ने कुखुराका केहि खिन्लाग्दा अंगहरु त्यसैको झोलमा उत्रिरहेका थिए |
खाने खालको मासु त्यसमा थिएन | 'म खान्न' भन्छु भनेर केटो तिर हेरेँ, केटो त
हिडिसकेछ | छेउको टेबलमा गाडीका स्टाफहरु बसेका रहेछन् | "खाना कस्तो
छ?" तिनै मध्ये एउटाले मलाई सोध्यो | मलाई ठुलो आवाजमा हाँस्न मन लागेको थियो
तर हासिन | "यस्तो पनि मासु हुन्छ?" मैले भने | "बाहिर हिड्दा
बाटामा मासुसासु खाने नै होइन नी तपाइलाई थाहै रै'नछ" उसले भन्यो | मैले उसका
भाग तिर हेरेँ, ऊ फ्राईड चिकेन खादै थियो | रिसाउनु व्यर्थ थियो म फेरी हासिदिएँ |
कचौरा आफ्नु भागबाट अलि पर सारिदिएँ अनि भागमा जे थियो (राम्रो सँग हेर्दा पनि
नहेरी) छिटो छिटो खाएँ |
काउन्टरको टेबल माथी बसेर
होटल साहु पैसा उठाउदै रहेछ |
"कति हो दाई?"
"एक सय नब्बे |"
"एकसय नब्बे?"
"सादाखाना हो की मासुखाना?"
"सादा |"
"एकसय तिस दिनुस् |"
"अनि अगी किन एक सय नब्बे भनेको त? मान्छेलाई त्यसै तर्साउने?"
"मासुखाना हो की भनेर नी |"
"तेरो बाउ! साला, पहिल्यै सादाखाना हो की मासुखाना हो सोध्न सक्दैन
थिईस्" भन्न मन लागेको थियो | "यहाँ यस्तै हो, दिनेले दिहाल्छ" भन्ठानेर
चुप लागेर पैसो दिएर बाहिर निस्किएँ |
बाहिर साथी पसलवाला सँग
झगडा गर्दै रहिछन् |
"के भयो र?" मैले मेरी साथीलाई सोधेँ | "घिनलाग्दो
चाउचाउ, कसरी खानु यस्तो?" उनले एकैपटक रिस र घिन मान्दै भनिन | "बाटामा
हिड्दा यस्तै हो घरमा गएर मिठो खाउँला" मैले भने | फेरी उनले भनिन,
"मलाई त उल्टी आउला जस्तो भयो, खान सक्दिन यो त" |
"के खान्छौ त?"
मैले सोधेँ | "बरु एउटा अन्डा खानु पर्यो | त्यो त उसिन्ने मात्र हो नी यिनीहरुले,
बनाउने त कुखुराले हो" उनले भनिन | म मुस्कुराएँ |
"भाई अन्डा देउ त एउटा, कति हो एउटाको?"
अन्डा दिदै "बीस रुपियाँ"
"आम्मामा बीस रुपीयाँ? तिमीहरु त लुट्नै बसेका र'छौ नी? एउटा
अन्डाको आठ रुपीयाँ पर्छ | उसिनेको मात्रै बाह्र रुपियाँ लिने? भाई अलि अलि पो
नाफा खानु त हो |" आफु भन्दा सानु देखेकोले र उसका मान्छेहरु वरपर नदेखेकोले
मलाई अलिकति आँट आयो र भनिहाँले |
"लुट्न बसेको, भन्न सजिलो छ दाजु | हाम्रो समस्या कस्ले
बुझ्छ?"
लौ के चै समस्या र'छ त ? म पनि उत्सुक मान्छे फेरी उसले पनि 'दाजु'
आदरार्थी लगाएर सम्मान पुर्वक दुख पोखेकाले सोधिहालौँ न त भन्ने मन मा आयो |
"के छ र भाई त्यस्तो समस्या?"
"एउटा गाडीलाई महिनाको पन्ध्रसय रुपियाँ दिनु पर्छ | यहाँ तेईस
वटा गाडी आउछन् | अनि महँगो नबेचे कसरी टिक्ने यहाँ?"
"अनि गाडीले यति जना मान्छे ल्याउनु पर्ने भन्ने छ?" मैले
अरु उत्सुकता देखाएँ |
"गाडी खालि आवस वा भरि केहि मतलव हुदैन, पुरा पैसा दिनु
पर्छ"
"अनि त्यो होटेलवालाले पनि पैसा दिन्छ?"
"दिन्छ | एउटा गाडीलाई दिनको हजार रुपियाँ दिन्छ"
लौ देशको संस्कार यहाँ पनि राम्रै सँग बसेको रहेछ | आफ्नु देशको
संस्कार तोड्नु त राष्ट्रियता छोड्नु बराबर हो सायद | गाडीले किन अन्य विकल्प
नभएको, एउटा मात्र होटेल भएको ठाउँमा लगेर रोक्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा
पाइयो आज | यात्रीहरुलाई कुनै विकल्प नहोस् ताकी जस्तो पनि खाना खान उनीहरु तयार
हुन्छन् भन्ने कुविचार मनमा राखेरै एकान्त ठाउँमा एउटा मात्र भातघर बनाइँदो रहेछ | यस्ता ठाउँहरुमा कसैको
ध्यान जाँदैन | सबै आफ्नो आफ्नो क्षणिक स्वार्थ र लूच्छाचुडी मै ब्यस्त छन् | म
निरिह छु | हाम्रा नेता निरिह छन् | सबै निरिह निरिह | निरीहता हाम्रो दैनिकी |
अब सराप्नु बाहेक अरु कुनै
उपाय थिएन त्यहाँ | सराप्नु पनि अर्थहीन लाग्यो | मेरी साथीले अन्डा खाइसकेकी थिईन
| अब त्यहाँ बसिरहनु आवस्यक थिएन | माँगे जति पैसो दिएर हामी बाहिर निस्कियौँ |
त्यो कथा त्यहिँ सकियो |
No comments:
Post a Comment