Monday, April 6, 2015

मलाई मान्छे बन्नु छैन

सत्य
मलाई मान्छे बन्नु छैन
र बाँध्नु छैन सीमाना
स्वतन्त्रताहरू माझ
राजदुतावासहरू
मलाई बन्दुक तेर्स्याउन्छन्
समाज
मलाई औंलो ठड्याउँछ
कानून अन्याय गर्छ
म माथि !
कसले बनायो देश
र कोर्यो सीमाना ?
मान्छे !
कसले बनायो समाज ?
मान्छे !
कसले बनायो कानून
धर्म, संस्कृति
र बनायो मलाई कैदी ?
मान्छे !
मान्छेले बन्देज लागायो मलाई
फगत प्राणी हुन
र मानव अधिकार बनायो
अनि हरेक दिन कैद गर्यो मलाई !
म फगत एक प्राणी
स्वतन्त्र
प्राकृतिक
मेरो सीमाना पृथ्वी हो
बरु चन्द्र पुग्नु छैन मलाई
चन्द्रमा हेर्ने सुन्दर लाग्छ मलाई
सत्य
मलाई मान्छे बन्नु छैन
र बाँध्नु छैन सीमाना !
गोपाल अर्याल
१०/०८/२०१४