Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Saturday, January 5, 2013

यात्रा कथा


'ग्रीन हाउस होटेल, लालगढ' लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन | यो केटोले महिला शौचालय किन खोज्यो भनेर मेरो नियत माथी संका गर्नुहोला फेरी, मेरो पछि पछि मेरी महिला साथी थिइन् उनको लागि पनि शौचालय पहिलो आवश्यकता थियो त्यतिखेर | एकछिन् उनलाई वरै उभ्भिन लगाएर मैले यसो नजर घुमाएपछि ढोका बन्द गर्न मिल्ने दुई कोठे शौचालय फेला पारें तर त्यहाँ पुग्न केटाहरुको पम्पिसेट लाइन हुदै जानु पर्थ्यो | हेर्दिन भन्दा पनि त्यो दृश्य देखिन्थ्यो | अवस्था देख्दा सारै रिष उठ्यो तर यात्रामा यस्तै हो | सधैलाई होइन भनेर चित्त बुझाएँ अनि मेरी महिला साथीलाई ती केटाहरुको माझबाट स्कर्टिंग गराएर बन्दकोठे शौचालय सम्म पुर्याएँ अनि आफु पनि लागेँ भित्ता तिर | लौ अब ढुक्क भयो | भुँडी-भण्डार खालि गर्दाको आनन्द त मैले बखान गरिरहनै नपर्ला | हाम्रो शरीर एउटा फिल्टर मात्र हो जस्तो लाग्छ कहिले काहिँ मलाई | माथिबाट भर्यो तल बाट खालि हुन्छ, निरन्तर | फरक यत्ति हो फिल्टरबाट चुहिने पानी सफा र पवित्र मानिन्छ तर सरीर बाट चुहिने अपवित्र |
    
   अब फिल्टर खालि भएपछि भर्नु पनि त पर्यो | मेरी साथीले भात नखाने निर्णय सुनाईन् | मलाई जस्तै भए पनि भात नभई नहुने, भाते म | नाम मात्रको भए पनि मलाई नेपाली खाना चाहिन्छ | यात्रामा बाटामा खुवाइने खाना अत्यन्त तल्ल्लो स्तरको हुन्छ भन्ने जान्दा जान्दै म त्यहि खान भातघरमा छिरेँ | मेरी साथी चाउचाउ अन्डा खाना भन्दै नजिकै रहेको भातघर बाहिरको एउटा पसलमा छिरिन् | खानाको भाउ नसोधीकन खाना खान बसेँ | छरपष्ट घिनलाग्दो देखिने खाना र केहि नाम मात्रका तरकारी र अचार हालेको एउटा ठुलो थाल ल्याएर एउटा केटोले मेरो अगाडी टेबलमा फ्याकेर हिड्यो | निरिह कुकुर जस्तो फ्याकेको खाना टिप्नु सिवाय अरु उपाय थिएन त्यहाँ | केटो फेरी आयो र एउटा कचौरो राखेर हिडिसकेको थियो, मैले सोधिहालेँ "के हो यो?" "मासु" उसले उत्तर दियो | यसो कचौरामा हेरेँ | नबास्ने कुखुराका केहि खिन्लाग्दा अंगहरु त्यसैको झोलमा उत्रिरहेका थिए | खाने खालको मासु त्यसमा थिएन | 'म खान्न' भन्छु भनेर केटो तिर हेरेँ, केटो त हिडिसकेछ | छेउको टेबलमा गाडीका स्टाफहरु बसेका रहेछन् | "खाना कस्तो छ?" तिनै मध्ये एउटाले मलाई सोध्यो | मलाई ठुलो आवाजमा हाँस्न मन लागेको थियो तर हासिन | "यस्तो पनि मासु हुन्छ?" मैले भने | "बाहिर हिड्दा बाटामा मासुसासु खाने नै होइन नी तपाइलाई थाहै रै'नछ" उसले भन्यो | मैले उसका भाग तिर हेरेँ, ऊ फ्राईड चिकेन खादै थियो | रिसाउनु व्यर्थ थियो म फेरी हासिदिएँ | कचौरा आफ्नु भागबाट अलि पर सारिदिएँ अनि भागमा जे थियो (राम्रो सँग हेर्दा पनि नहेरी) छिटो छिटो खाएँ |

  काउन्टरको टेबल माथी बसेर होटल साहु पैसा उठाउदै रहेछ |
"कति हो दाई?"

"एक सय नब्बे |"

"एकसय नब्बे?"

"सादाखाना हो की मासुखाना?"

"सादा |"

"एकसय तिस दिनुस् |"

"अनि अगी किन एक सय नब्बे भनेको त? मान्छेलाई त्यसै तर्साउने?"

"मासुखाना हो की भनेर नी |"

"तेरो बाउ! साला, पहिल्यै सादाखाना हो की मासुखाना हो सोध्न सक्दैन थिईस्" भन्न मन लागेको थियो | "यहाँ यस्तै हो, दिनेले दिहाल्छ" भन्ठानेर चुप लागेर पैसो दिएर बाहिर निस्किएँ |
   
   बाहिर साथी पसलवाला सँग झगडा गर्दै रहिछन् |
"के भयो र?" मैले मेरी साथीलाई सोधेँ | "घिनलाग्दो चाउचाउ, कसरी खानु यस्तो?" उनले एकैपटक रिस र घिन मान्दै भनिन | "बाटामा हिड्दा यस्तै हो घरमा गएर मिठो खाउँला" मैले भने | फेरी उनले भनिन, "मलाई त उल्टी आउला जस्तो भयो, खान सक्दिन यो त" |
 "के खान्छौ त?" मैले सोधेँ | "बरु एउटा अन्डा खानु पर्यो | त्यो त उसिन्ने मात्र हो नी यिनीहरुले, बनाउने त कुखुराले हो" उनले भनिन | म मुस्कुराएँ |

"भाई अन्डा देउ त एउटा, कति हो एउटाको?"

अन्डा दिदै "बीस रुपियाँ"

"आम्मामा बीस रुपीयाँ? तिमीहरु त लुट्नै बसेका र'छौ नी? एउटा अन्डाको आठ रुपीयाँ पर्छ | उसिनेको मात्रै बाह्र रुपियाँ लिने? भाई अलि अलि पो नाफा खानु त हो |" आफु भन्दा सानु देखेकोले र उसका मान्छेहरु वरपर नदेखेकोले मलाई अलिकति आँट आयो र भनिहाँले |

"लुट्न बसेको, भन्न सजिलो छ दाजु | हाम्रो समस्या कस्ले बुझ्छ?"

लौ के चै समस्या र'छ त ? म पनि उत्सुक मान्छे फेरी उसले पनि 'दाजु' आदरार्थी लगाएर सम्मान पुर्वक दुख पोखेकाले सोधिहालौँ न त भन्ने मन मा आयो |

"के छ र भाई त्यस्तो समस्या?"

"एउटा गाडीलाई महिनाको पन्ध्रसय रुपियाँ दिनु पर्छ | यहाँ तेईस वटा गाडी आउछन् | अनि महँगो नबेचे कसरी टिक्ने यहाँ?"

"अनि गाडीले यति जना मान्छे ल्याउनु पर्ने भन्ने छ?" मैले अरु उत्सुकता देखाएँ |

"गाडी खालि आवस वा भरि केहि मतलव हुदैन, पुरा पैसा दिनु पर्छ"

"अनि त्यो होटेलवालाले पनि पैसा दिन्छ?"

"दिन्छ | एउटा गाडीलाई दिनको हजार रुपियाँ दिन्छ"

 लौ देशको संस्कार यहाँ पनि राम्रै सँग बसेको रहेछ | आफ्नु देशको संस्कार तोड्नु त राष्ट्रियता छोड्नु बराबर हो सायद | गाडीले किन अन्य विकल्प नभएको, एउटा मात्र होटेल भएको ठाउँमा लगेर रोक्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा पाइयो आज | यात्रीहरुलाई कुनै विकल्प नहोस् ताकी जस्तो पनि खाना खान उनीहरु तयार हुन्छन् भन्ने कुविचार मनमा राखेरै एकान्त ठाउँमा एउटा मात्र भातघर बनाइँदो रहेछ | यस्ता ठाउँहरुमा कसैको ध्यान जाँदैन | सबै आफ्नो आफ्नो क्षणिक स्वार्थ र लूच्छाचुडी मै ब्यस्त छन् | म निरिह छु | हाम्रा नेता निरिह छन् | सबै निरिह निरिह | निरीहता हाम्रो दैनिकी |
   
  अब सराप्नु बाहेक अरु कुनै उपाय थिएन त्यहाँ | सराप्नु पनि अर्थहीन लाग्यो | मेरी साथीले अन्डा खाइसकेकी थिईन | अब त्यहाँ बसिरहनु आवस्यक थिएन | माँगे जति पैसो दिएर हामी बाहिर निस्कियौँ | त्यो कथा त्यहिँ सकियो | 

Monday, February 6, 2012

हाइजेनिक “लूट” र मेरो सन्दर्भ


                  
 “म आज भोलि धेरै हाइजेनिक भाको छु, अलिकति बढी उकालो चढ्न गाह्रो मान्दिन तर म मेरो नियमित स्थानमा भेज म:म: मात्र खान्छु |” दिल्ली बजार को उकालो चढ्दै उनले भने | मलाई औधि माया गर्ने[मलाई त्यस्तै लाग्छ] मेरा एक अग्रज दाई राम्रै भलाकुसारीको मूड मा थिए आज | उनले उनका एकजना सहकर्मी संग भएको भलाकुसारी को प्रसङ्ग बाट भलाकुसारी सुरु गरे |
उनको प्रस्न: ‘तपाइँ सौगात मल्ल चिन्नु हुन्छ ?”
उनका सहकर्मीको उत्तर: ‘चिन्दिन’
‘उनि हिट छन् नि अहिले’
“होर ?”
“तपाइँ दयाहांग राई चिन्नु हुन्छ”
“चिन्दिन”
“उनि पनि हिट छन् नि अहिले”
“होर ?”
“उनीहरु दुवै लूट फिल्म का हिरो हुन्, हाम्रो भाई पनि सौगात मल्ल जस्तै देखिन्छ”
“त्यस पछी उनी वाल्ल परे र ‘हँ, होर’ फेरी दोहोराए” भनेर उनि फिस्स हाँसे |
लौ, लूट ले पनि गज्जब काम गरेछ भन्ने मलाई लाग्यो | बजारमा पुराना मान्छे, पुराना ब्रान्ड मात्र बिक्रि हुन्छन् भन्ने धेरै मान्छेको बिचारलाई राम्रै संग भत्काउदै र’छ लूट ले | उनले हाइजेनिक म:म: पसल खोजे जस्तै अब धेरै दर्शक हाइजेनिक सिनेमा खोज्दै हल तिर धाउने भए भन्ने मलाई लाग्यो |
एकै छिन् पछी म:म: मुखमा हाल्दै उनि फेरी बोले “त्यस पछी मैले तिनलाई भने, कुनै स्थापित ब्रान्ड को नाम मा वा बच्चाहरुले खेलेको फिल्म भनेर बिज्ञापन गर्न छोड्नुस् | त्यस पछी मैले उनलाई मैले कल्पना गरेको पोस्टर को डीजाइन सुनाएँ | मलाई देखाउन उनले धेरै डीजाइन ल्याएका थिए तर चित्त बुज्दा कुनै थिएनन् | अति भएर होला संगै बसेका अर्का एकजना सहकर्मीले त ठाडै भने ‘ दर्शकले फिल्म मा एउटा फिगर खोज्छ सर, के तपाइले दोहोरि गीतको म्युजिक भिडियो को पोस्टर बनाउन खोजेको हो ?’..”

उनि भन्दै थिए “फिल्म राम्रो हुन कन्टेन्ट चाहिन्छ” | संग संगै लूट फिल्मको चर्चा पनि हुदै थियो | म पनि के कम ! कलाकार न परें | फिल्म नहेरेकै भए पनि साथीहरु बाट सुनेका र सोसियल साईट मा पढेका सबै जानकारी प्रयोग गरेर फिल्म हेरेकै अभिनय गर्दै, हो नै जस्तो गरेर मैले पनि साथ दिईरहें | ‘लूट’ नहेरेको मा भित्र भित्रै ग्लानि भईरहेको थियो | मन मनै सोचेँ “अब त लूट हेर्छु हेर्छु” |
सोचें, कति अरुको मात्र कुरो गर्नु ? अब आफ्नै केही कुरो उठाउनु पर्यो |
मैले पनि आफुलाई बिक्रीको लागी बजार मा राखेको धेरै भयो | थोरैले मात्र मलाई किने, तर जतिले किने, सक्दो उपभोग गरे | उनीहरुले जति धेरै उपभोग गरे, म उतिनै नयाँ र बलियो भएँ |
“दाई, सुन्नु न ! यो फिल्म चले पछी मैले दर्शक को गाली खाने सम्भावना कतिको छ ?”
मैले आफुलाई अलि तलै पारेर सोधेँ |
“हेर भाई” उनले भने, “यो फिल्म भनेको नयाँ प्रकारको मिठाइ हो जुन अन्त खोज्दा पाइदैन, त्यसैले यहि खान दर्शकलाई कर लाग्छ | मुभी कति चल्छ म अहिले भन्न सक्दिन तर यो कुरा लेखेर राख, तिमी चल्छौ”
मलाई के चाहियो र म पनि मक्ख ! लौ, महंगी बढेको बेलामा राम्रै बजार भाउ पाए के खोज्नु ?
आफुलाई सामान्य देखाउन मलाई एकछिन् गाह्रै पर्यो |
त्यस पछी सम्भावित प्रोजेक्ट को कुरा र प्रोजेक्ट आफुले गर्ने पक्का भएमा मलाई आफ्नु प्रोजेक्ट मा लिने पूर्ण आश्वासन दिदै म:म: को पैसो आफैले तिरे |
“ल भाई मलाई यो मार्केटिंग को बिषयमा यसो भन्दै गर है” पुतली सडक चोक नेर आए पछी उनले भने | म अलमल्ल परें | “तिमी र म मार्केटिंग को बिषयमा कुरो गर्न आको होइन त बाहिर ?” भने पछी उनि मज्जाले हाँसे | म पनि हाँसीदिएँ | हामी दुवै हाँस्यौँ |