Saturday, December 22, 2012

"Shaking the Tree" Movement



An Interview of mine and Ganesh Pandey (a documentary director and a journalist) in a F.M.Radio in Damak, Jhapa about our Shaking the tree Movement and the purpose of documentary making. please listen once when you get time !

Thursday, December 20, 2012

अभियान अभियानको


"Shaking The Tree" एउटा अभियान यो| शाब्दिक अर्थ रुखलाई हलाउनु होला| हामी मान्छेहरु रुख भन्दा फरक र विकसित छैनौ की जस्तो लाग्छ कहिले काहिँ| कम्ति मा रुखले मान्छे र अन्य प्राणीलाई अक्सिजन दिन्छ, सितल छहारी र बास् दिन्छ तर मान्छे मा आजभोली संवेदना हराउदै गएको पाउँछु म | बेवास्ता, उदासिनता, नैराश्यता, दिक्दारी अहिलेका मान्छेहरुको अंग बनेका छन् जसले कहिले छोड्दैन! मान्छे व्यक्ति बादी बढी भयो| मलाई चै मान्छेको यो अवस्था देखेर नैराश्यता उत्पन्न हुन थालेको छ | अहिलेको  युवा पुस्ता र तिनका व्यवहार हेर्छु, मलाई देशको भविष्य माथी झन् चिन्ता बढ्छ | हामी सबै कुरा थाहा पाएर पनि थाहा नपाए जस्तो गर्छौ | समस्या त्यहिँ छ | त्यसैले हाम्रो यो अभियान को अर्थ हो त्यस्ता मानिसहरुलाई झक्झक्याउनु, सुतेकाहरुलाई उठाउनु |

   मानव अधिकार सम्बन्धि वृत्तचित्र लिएर देश दौडाहा गर्छु, सक्दो युवाहरुको मनस्थिति परिवर्तन गर्छु भनेर हिडेको ४ महिना भएछ | उपत्यका लगायत धादिंग, गोरखा, दोलखा, नुवाकोट, नवलपरासी र अहिले झापा सम्म आइपुग्दा मैले नैराश्यता भन्दा बढी प्रेरणा पाएको छु | धेरै युवाहरुले आफुलाई कार्यक्रमले सच्चिनै प्रभाव पारेको अनुभूति सुनाएका छन् मलाई | शिक्षकहरुले आफ्ना बिद्यार्थीहरको विचार र व्यवहारमा परिवर्तन आएको खुशी बाँडेका छन् म सँग र मेरो खुशी पनि त्यहिँ हो | मैले १०० जना युवाको अगाडी कार्यक्रम गर्दा सबैको मनस्थिति बदल्छु भनेर मलाई कहिले पनि लाग्दैन तर त्यसमा १० जनाले मात्र पनि आफुलाई परिवर्तन गर्ने बारेमा सोचे र गरे भने म आफुलाई सफल भएको ठान्दछु | केहि हुदै नहुनु भन्दा थोरै भए पनि हुनु धेरै राम्रो कुरा हो | समाज बदल्ने ठुलो सपना बोकेको अभियान हो यो | सक्दो धेरै ठाउँमा कार्यक्रम लैजाने योजना छ | झापा पछि लगत्तै बाग्लुंग, पर्वत र म्याग्दी जादैछौँ कार्यक्रम लिएर |
हामीले प्रसस्त पैसा व डलर भएर यो काम गरिरहेको होइन | हामीले यसमा पनि एउटा संस्कार बसाउन खोजेका छौ | हुनेखाने ले नहुनेलाई सहयोग गर्ने भन्ने | काठमांडौ र अन्य स्थानमा बोर्डिंग स्कूलमा पढ्ने भाई बहिनीहरुले उनीहरुकै उमेरका उनीहरुजस्तै तर गाउँमा बस्ने र हाम्रो कार्यक्रमको लागि खर्च बहन गर्न नसक्ने भाई बहिनीहरुको लागि सहयोग गर्छन् | हामी उनीहरुले सहयोग स्वरुप उठाएर दिएको रकमले गाउँ गाउँमा गएर न्युनतम खर्चमा कार्यक्रम गर्छौ | अभियानको सुरु देखिनै कार्यक्रमको संयोजनको जिम्मा लिएको छु | त्यसले एक किसिमको सक्ति र आँट प्रदान गरेको छ | 
      Human Rights Film Focus Nepal नाम दियौं हामीले संस्थालाई | मानव अधिकार सम्बन्धि संस्था भए पनि फिल्महरुलाई माध्यमको रुपमा प्रयोग गरेकोले यो अलिकति फरक खालको संस्था हो | कलालाई समाज रुपान्तरणको लागि प्रयोग गर्नु यसको अर्को बिशेषता हो |

  सबै ठाउँहरु आफु अनुकूल पक्कै हुदैनन् | हरेक ठाउँमा काम गर्दा केहि न केहि अफ्ठ्याराहरु आउँछन्, सामान्य हो | दमक, झापा पनि त्यसको अपवाद बन्न सकेन | युनिक कलेजका भाइबहिनीहरूले हिजो पौष ५ गते बिहिवार सहभागिता जानाए आज ६ गते मोडेल कलेजमा कार्यक्रम भयो| यो कार्यक्रमको मुख्य अभियान स्कूल/कलेजमा भए पनि आम समुदायको लागि पनि यसले उत्तिकै महत्व राख्छ | पुर्व योजना र सल्लाह अनुसार भोलि ७ गते सनिबार एउटा बौद्दिक प्रदर्शनी हुनेछ एस. एन. मार्केट भित्रको SCAF नेपाल नामक संस्थाको कार्यालयमा | आइतबारलाई आफुले बालापनमा पढेको स्कूल बाणी मा.वि. गुहावारीमा कार्यक्रम लैजाने योजना बनाएको छु |

   म थाक्न चाहन्न अहिले | म इमानदार भएर भन्छु म साच्चै समाज बदल्ने अभियानमा हिडेको छु | मलाई सहयोगी हातहरुको आवश्यकता छ | तपाइहरु कोहि हुनुहुन्छ् अलिकति बल लगाउन सक्ने, थोरै जिम्बेवारी लीन सक्ने | आफु, मात्र आफु बाट अलिकति माथी उठ्न सक्ने, हातमा हात मिलाउन सक्ने, हैसेमा होस्टे गर्न सक्ने भने कृपया खबर पाउँ | मैले गर्न सक्ने काम को लागि म हरदम हरदम तयार छु |



_____________गोपाल अर्याल_______________

______________२०६९/०९/०६________________

Thursday, December 6, 2012

गजल

बनायौ आफ्नै र बिरानो बनायौ !!
चलायौ खुकुरी अचानो बनायौ !!

देख्छ मान्छे सबै मेरै मात्र गल्ती
बन्यौ ठुलो मलाई सानो बनायौ !!

छैनन् रहर, सपना छैनन् अब
डुबायौ मलाईं ओभानो बनायौ !!

बाँच्छौ कसरी भाचियो यो गोपाल
आज सम्म त सधैँ छानो बनायौ !

________गोपाल अर्याल______
_____मिति: मङ्सिर-२१, २०६९____

Saturday, October 13, 2012

टाउको

कहिल्यै नभरिने
असन्तुष्टिको एउटा भाँडो,
मान्छे |
एक, दुई, तीन, चार,
लमक लमक लमक लमक
अघि पछि
दायाँ बायाँ
लम्कन्छ लम्कन्छ
लम्किरहन्छ |
जब सम्म भरिन्न त्यो,
र खाली खाली फुट्छ
रित्तो...!
कोलाहल,
भिड,
अत्यास्,
तिर्खा,
सपना,
आशाको एउटा त्यान्द्रो |
थोपरिएको एउटा जिन्दगी |
सकी नसकी बोकेर
संसारका टाउकाहरु
टाउकामा एउटा संसार
कैयन संसारहरु
उचालेर,
टाउको फुटुन्जेल
असन्तुष्टी बोकेर,
सन्तुष्टी खोज्दै
दौडन्छ |
एउटा टाउको,
अर्को टाउकाको
सन्तुष्टी सँग असन्तुष्ट छ |
अर्को टाउको,
अर्को टाउकाको
असन्तुष्टी सँग सन्तुष्ट छ |
असन्तुष्ट टाउकाहरु,
असन्तुष्ट मनहरु,
बिचारहरु,
इर्श्याहरु,
लालचहरु,
सबै सबै एउटा भाडा हुन् |
जो कहिल्यै भरिन्न |
मान्छे.....
एउटा असन्तुष्ट टाउको !!!

________गोपाल अर्याल_______
लेखन मिति: २०६८-०२-०३, मैतीदेवी, काठमाडौँ |

Wednesday, October 10, 2012

सुनकोशीहरु




अचम्मको सहनशिलता,
अचम्मको धैरता,
वर्षौं देखि अटल,
उत्तानो परेर लमतन्न
पसारिएको छ चट्टान,
र पसारिएका छन् चट्टानहरु !
रातदिन नभनी
सम्भोगमा व्यस्त छ सुनकोशी
र व्यस्त छन् सुनकोशीहरु !
कयौँ भ्रुणहरु गुमाए
सुखको के कुरा
दुख साटासाट गर्दै
सँगै युगौँ बिताई सक्दा पनि
बाझै रहेका सुनकोशीहरु
र चट्टानहरु
मान्छेहरुले अलिकति मात्र पनि
ध्यान दिईदिए
कति बिजुली सन्तान हुदाहुँन् तिनका ||

______________गोपाल अर्याल____________
लेखन मिति: २०६९-०६-२४, स्वयम्भु, काठमाडौँ !

Sunday, September 30, 2012

मान्छे हुन सकिन


मेरै हातले खारेको सुन र पानीले
मेरै हातले सिँगारेको मुर्तिलाई
मै बाट चोख्याएर
उनीहरुले आफ्नु बनाए,
अनि फेरी त्यो
कहिले मेरो हुन सकेन | 
मैले बनाएको मुर्ति
भगवान भयो,
म दास भएँ |
मेरै सुनले छुने पानी
गंगाजल भयो,
म फोहर नालीको 
दुर्गन्धित पानी भएँ |
उनीहरुले आफुलाई 
भगवान बनाए,
र मेरो भाग्य लेखे |
म बिचरा....
आफ्नै भाग्य लेख्न सकिन |
मान्छे सम्म हुन सकिन |

_______गोपाल अर्याल_______
झन्नै दुई वर्ष अगाडी, स्थान: दोलखा, सुन्द्रावती |
[सन्दर्भ: नाटक निर्देशन]

म यसरी लेख्छु "गजल"

भावनालाई शब्दभित्र ढालेर लेखेँ |
कहिले अध्यारोमा बत्ती बालेर लेखेँ |

कहिले काहिँ सोच्दा सोच्दै आधि रात हुन्थ्यो
उठेँ ओछ्यान बाट सिरक फालेर लेखेँ |

टुक्रीएझैँ लाग्थ्यो मन, दुख्थ्यो सम्झनाले
बुझाउन चित्त मन यो टालेर लेखेँ  |

बितेका ती पलहरु याद आएपछि
लिएँ कलम शब्द शब्द चालेर लेखेँ |

सम्झे गजलको स्वरुप दिलाउछु अब
अनि काफिया र रदिफ हालेर लेखेँ |

_____________गोपाल अर्याल____________
लेखन मिति: २०६३-११-०२, रविभवन, काठमाडौँ !

Wednesday, September 26, 2012

म र काठमाडौँ

लेख्ने बेलामा सधैँ समस्या आउछ | के लेखौँ के लेखौँ थाहै हुँदैन | त्यसो भन्दा पनि सुरुवात नै थाहा नभएको हो | हुन त कुनै कुराको सुरु र अन्त्य नै हुँदैन जस्तो पनि लाग्छ कहिले काहिँ तै पनि |
    काठमाडौँ धेरैको सपनाको सहर, कसैको तितो भोगाई, कसैको मिठो पनि होला ! भोगाई आ-आफ्नो | काठमाडौँ आएपछि आँफुमा तिब्र परिवर्तन भएको पाउँदैछु म | सकारात्मक या नकारात्मक म आफैले बुझ्न नसक्नु आफैँ बिचरा बन्नु हुनसक्छ तर यथार्त यहि हो | काठमाडौँ आएपछिका धेरै परिवर्तन र मैले भोगेको जीवनलाई मैले "माइन्ड योर हेड" को लागि सुम्पिसकें तर त्यति मात्र प्रशस्त नहुन सक्छ |
काठमाडौँ छिर्दाको अनुभूति, मनको आशा र सपना जिन्दगीको, डर साहसको, आभाष एक्लोपनाको बिस्तारै सकिदै गएको हो की जस्तो लाग्छ |
जंगल हो की बस्ति हो मान्छेको छुट्याउनै गाह्रो | आधिक्तम मान्छेहरु व्यक्तिवादी | सायद अब त म पनि |
अनुभव एक्लो पनाको, अनुभव भोकको, अनुभव लतको, अनुभव सेक्सको, अनुभव प्रेमको, अनुभव धोकाको, अनुभव कलाको, अनुभव कामको, अनुभव फरक संस्कृतिको, अनुभव राजनितिक अवस्थाको, अनुभव अभावको, अनुभव भरिपूर्णताको, अनुभव सुखको, अनुभव दुखको, समुहको, साथीको र सम्बन्धको | अनुभव कति कति काठमाडौँले सिकाएको छ | धन्यवाद काठमाडौँलाई ! कति सोच फराकिला भएका छन् | कतै सायद साँघुरिदै होलान् |
ठुलो कुरा म किन लेखुँ ? कस्को लागि लेखुँ ? हिजो कुनै सुन्दर केटीकोअगाडी पर्दा पनि रातो पिरो हुने मान्छे म | आज म सँग कुनै स्त्री संगको सम्बन्धमा दुइ शरीर एक बनाएका थुप्रै अनुभव छन्, काठमाडौँले दिएको | बोल्नु, हाँस्नु, हात मिलाउनु, अँगालो मार्नु सबै अब सामान्य भै सके | नाटक सिक्दा र गर्दाका थुप्रै अनुभव |
कसैले हाँस भन्दा हाँस्नु पर्ने, रो भन्दा रुनु पर्ने | कसरी हाँस्नु, कसरी रुनु, कसैले भन्ने बित्तिकै किन मान्नु ?
भन्ने सोच मनमा आएर लाज लाग्नु र हाँस्न नसक्नु | कुरा सामान्य हो, जीवनमा को हाँस्दैन, को रुँदैन तर कसैले भनेको भरमा वा कसैको निर्देशनको भरमा हाँस्नु र रुनु आत्मसम्मानपूर्ण होइन  भन्ने लाग्दो हो सायद मलाई त्यति खेर जबकी अहिले जीवनलाई त्यसैमा ढाल्नु परिरहेछ |
व्यक्तिगत सामान अरुलाई छुन पनि नदिने मेरो स्वभाव मेरा साथीहरुले मेरो मोजा चोरी चोरी लगाएर परिवर्तन गरिदिए | यी परिवर्तन सँगै विचार (सोच) मा पनि परिवर्तन हुँदै गयो | विचार फ्यासनको, विचार सेक्सको, विचार राजनीतिको, विचार कलाको, विचार प्रेमको, विचार शैलीको, विचार धर्मको, विचार आस्थाको, विचार विचारको, सबै परिवर्तन भएका छन् |
२७ चैत्र २०६५, अनामनगर बाट स्वयम्भु बसाईं सराई | कोठा अफिसले दियो | एक बर्षे बसाइ अनामनगरको धेरै उपलब्धिमूलक र केहि अवरोधात्मक, मिश्रित | यहाँ सबै यहुदीहरु बस्छन् | म बाहेक, म आफुलाई हिन्दु भन्छु | आउने आइतबार अरु सत्र जना यहुदीहरु आउने छन्, संसारका विभिन्न ठाउँ बाट | मेरो बसाइ उनीहरु सँगै हुनेछ तर मलाई लाग्छ मलाई एक्लिन समस्या हुने छैन | बिहिबार वा शुक्रबार हामी यात्रामा निस्कने छौँ | शिल्पी नाटक समुहको पुर्वान्चल नाटक यात्रा पन्ध्र दिनको लागि | यात्रा धेरै रमाइलो हुने आशामा छु | त्यसैको लागि कार्यशाला चलिरहेको छ ठमेलमा | सायद फर्किएपछि मात्र कोठा व्यावस्थापनको लागि काम गर्छु होला | यहाँ सर्नुको मेरो एउटा प्रमुख उदेश्य एक्लिन चाहँदा गाह्रो नपरोस् भन्ने हो | मिल्छ भन्ने मा विश्वस्त छु | सपना धेरै छन् | उदेश्य अझै थाहा छैन | भोलि सुन्दर हुनेछ भन्ने मा आशा सबैको हुन्छ | मेरो पनि छ | आशावाद जिदावाद ! भैरव अर्यालको एउटा वाक्य चोरें है 'भोलिवाद जिन्दावाद !!!

____________________________गोपाल अर्याल____________________________
                                                लेखन मिति: २०६५-१२-२७

Tuesday, September 25, 2012

माछो माछो भ्यागुतो

A short Movie about climate change. Give a look.  



New Nepali Movie "World Cup In Nepal"


The First Nepali Movie about Football craze in Nepal with a typical Nepali Story. And the first feature lenth Movie I have played as a main character. Releasing Soon.... I bet you will Like the Movie.





Tuesday, September 18, 2012

मलामीको लाममा लासहरु

सुन्द्रवातीमा मैले खाना खाने घरका पक्वाल बाजे ७२ वर्षको उमेरमा आज मरे | म अहिले मलामीको लाम सँगै पछि पछि दौडिरहेको छु | सयौँ मान्छे दाउरा काँधमा बोकेर लासको पछि पछि दौडिरहेका छन् | मलाई यस्तो लागिरहेछ 'यी सबै आफ्नो सरीर जलाउन आफ्नो चिहानमा एउटा दाउरो थपिरहेका छन् | मलाई लासहरु  नै  मलामीमा  हिडीरहे जस्तो लाग्यो | म आफैँ पनि धेरै हतारिएर हिडीरहेको  अनुभूति भयो मलाई  | जिन्दगी देखि टाढा, मृत्यु नजिक या जीवनकै नजिक जे भने पनि होला |
दृश्य अवश्य पनि रहर लाग्दो छैन | रमाइलो छैन | नरमाइलो पनि छैन | शान्त छ | म छिटो छिटो हिडीरहेको छु | मलाई एक्कासी रफ्तार कम गर्न मन लाग्छ | म बिस्तारै हिड्न थाल्छु | कारण, छिटो हिड्दा मृत्युको यात्रा नजिकिन्छ भन्ने डर लाग्यो | म बाँच्न चाहन्छु |
घटनाले कोहि पनि अचम्मित छैन | सबै सामान्य हो, प्राकृतिक हो | धर्ममा, भगवानले दिएको बाटो | 
मान्छेहरु हिजो पनि उदासिन थिए, आज पनि उदासिन छन् | भोलि त उदासिनता झन् बढ्ने वाला छ किनकी समाज जटिल बन्दैछ र मान्छेहरु व्यक्तिवादी | हाइटीमा भूकम्पले मान्छे मरे | भारतको हवाईजहाज दुर्घटनामा सयौँ मरे | तर मलाई थाहा छ, त्यो भन्दा बढी मलाई मेरो खुट्टाको औंलामा लागेको सानो चोटको चिन्ता छ | म पहिला आफुलाई सोच्छु त्यसपछि मेरो परिवार, गाउँ वा आफन्ती, त्यस पछि छिमेकी जिल्ला, अनि आफ्नु देश | गर्दै जाँदा कुनै अर्को देशको मान्छेको दुख र पीडाले मलाई छुन सम्म नि छुदैन | म अरुको पिडा र भोगाई प्रति उदासिन छु | सबै उदासिन छन् | संसार उदासिन छ |
म नाटक गर्ने कलाकार | मंचको भूमिका अरुलाई सिकाउँछु | जिन्दगी एउटा रंगमंच हो | मानिस जन्मना साथ जिन्दगीको रंगमंच मा इन्ट्री मार्छ र अभिनय सिध्याएर मंच बाट बाहिरिन्छ | पक्वाल बाजेले पनि जिन्दगीको रंगमंचमा धेरै उकाली ओराली भोगे | जीवनका धेरै अनुभुतिहरुको अभिनय सकेर आज मन्चबाट बाहिरिएका छन् | बाटो हाम्रो पनि त्यहि हो | तर जिन्दगी नाम दिईएको यो मन्चमा रहुन्जेल अभिनय गर्न छोड्नु भएको छैन | धेरै आफ्नो लागि र केहि (थोरै) अरुको लागि यो रंगमंचमा रहुन्जेल बाँच्नु छ, अभिनय गर्नु छ, जसरि पनि |
मैले आफैले कुनै दिन लेखेको थिएँ "म मृत्यु हेर्न हरेक दिन पशुपती जान्छु तर म त त्यहाँ जीवन भेट्टाउँछु" |
पक्वाल बा अब केहि क्षणमै खरानी हुँदैछन | उनका सपनाहरु सायद तुहिदै होलान् | साँच्ची सपना पाल्नु पनि बेकार रहेछ जस्तो लाग्दैछ आज मलाई | म हेरिरहेको छु, पक्वाल बालाई घाटमा ल्याउँदा उनले आफु सँग केहि पनि ल्याउन पाएनन् | पक्वाल बाले सजाएका सपना कस्का लागि थिए होलान् ! सायद उनि ठान्थे यी सबै आफ्नै लागि थिए | तर आज उनि सँग सपना छैनन् | रहर छैनन् | उदेश्य छैनन् | पक्वाल बा आज शान्त छन् एकदमै शान्त !!
उनको आत्माले शान्ती पाओस् !!!

_______________गोपाल अर्याल______________
लेखन मिति: २०६७ -०८-१७, सुन्द्रावती, दोलखा




म आफैँ भित्र हराउँछु

म लफुन्गो भएँ, हावा भएँ | मलाई देखेर, मेरो व्यवहारलाई देखेर अचम्म मान्नेहरु आफैँ सँग प्रश्न गर्छन् "यस्तालाई जन्म दिने बाबु आमा कस्ता होलान्न्?" साँच्चै कस्ता होलान् ? मैले जान्दा सम्म मेरो जन्म हुन मा विर्यदान गर्ने मेरो बाबुलाई मैले देखेको छु र चिनेको छु तर जन्म दिने आमा कस्ती होलिन्? मैले पनि चिनेको र देखेको छैन | मान्छेहरु आ-आफ्नै अड्कल लागाउदा हुन् मलाई जन्म दिने आमा बाबुको बारेमा | धन्य भगवान मलाई सोध्दैनन् | सोधेको भए म के जवाफ दिन्थेँ? त्यो भन्दा भावुक र निरिह हुने अर्को अवस्था नहुँदो हो सायद !

यो बाटो कहाँ जान्छ?
होइन होला !
जाम न त |
म त ढिडो खान्न |
चुरोट?
पिउँछु |
रक्सी?
पिउँछु |
कलाकारपो हुँ त |
जीवन बाँच्नु पर्छ होइन र ?
खोई...........?
मर्नु नि !
मलाई सबले हेला गर्छन् |
के गर्नु त काखमा बोक्नु ?
बच्चा हो र?
लाज लाग्दैन?
मान्छे त रमाइलै हो |
अलि बढी हावा |

मन भने पनि दिमाग भने पनि कहिल्यै कसैको खालि हुँदैन | म कसरी फरक हुनु? जब खोला र जंगलमा हिंड्छु, कविता आउँछ, लेख्न अल्छी लाग्छ | गाडीमा यात्रा गर्दा नाटकको अवधारणा आउँछ, ओर्ले पछि बिर्सिन्छु | दिसा गर्दा समेत रेडियो कार्यक्रमको अवधारणा तयार हुन्छ | योजना तयार गरेर कार्यक्रम चलाउने अठोट चर्पिमै गर्छु, बाहिर आउँछु अर्कै काम अगाडी आइलाग्छ, गर्न थाल्छु | पुराना सबै बिर्सिन्छु | कविता खोलामै मर्छ | नाटक गाडी भित्रै सकिन्छ र नाटककार पनि मर्छ | एउटा होनहार रेडियो कार्यक्रम प्रस्तोता चर्पी भित्रै मर्छ | बाहिर फेरी सपना मात्र हो जीवित हुने | म आम मान्छे हुनुमै चित्त बुझाउँछु |

__________गोपाल अर्याल_________
       लेखन मिति: २०६६-०७-२८,  पात्ले, धादिंग











Tuesday, September 11, 2012

दुरी

_____________________गोपाल अर्याल

सभ्यतालाई लात मारेर
निर्वस्त्र, नांगिएको
तिम्रो तस्विर,
नसाको जोस् मा
असिमित बेग मा
सडकैसडक
दौडिएको तिम्रो जिन्दगी ,
अस्तित्व गुमाएको
पछाडी फर्किएको तिम्रो मुहार
मानव सभ्यताको
कसरी हुनसक्छ ?
जबकी वर्षौ वर्ष सम्म
स्वार्थ, इर्ष्या र लालचमा
कुहिएर डुंगडुंग्ति गन्हाएको
तिम्रो मन
उदार हुनै सक्दैन |
मानवीय मन हुनै सक्दैन |
अरबौँ मनहरुको बिचमा
एउटा मात्र पनि
मन नअटाउने
तिम्रो विचार
खुल्ला हुनै सक्दैन |
तिम्रो संकुचित विचार भित्र
मेरो मन, उसको मन
मानव मुटु, मानव विचार
र अस्तित्व
केवल सुन्य हुनेछ ,
अर्थहीन हुनेछ |
हामी रुँदा तिमी हाँस्नेछौ
खुसीले !
हामी हाँस्दा तिमी रुनेछौ
इर्ष्याले !
तिम्रो पिडा हाम्रो हर्ष मा
तिम्रो हर्ष हाम्रो पिडामा
नजिक
तर पनि धेरै टाढा
हामी बिचको दुरी ||
_______________________
लेखन मिति: २०६२-०५-२०
झापा, नेपाल 


Monday, September 10, 2012

A short movie "DHULO" (धुलो) played by me



सरोज महतोले निर्देशन गर्नुभएको यो लघु चलचित्र मा मैले पनि अभिनय गरेको छु | चाडै "एकादेशमा" भन्ने लघु चलचित्र महोत्सवमा हेर्न पाइने छ | आशा छ मन पराउनु हुनेछ | हामी फरक काम गर्न मन पराउछौँ |

सहयात्रा

_____________________________गोपाल अर्याल

एउटा आलिशान महल भित्र,
मस्तिष्क सुकाउँदै,
सरीर कुहाउदै,
आत्मा गलाउँदै
काँचका एस्ट्रे भरि
विष पिउँदै
जीवन ओकल्दै
फ्याक्दै छ ऊ |

हरेक दिन,
जीवन खाली हुन्छ
एस्ट्रे भरिन्छ
र फ्याकीन्छन्
आयुका अंशहरु
एस्ट्रेको खरानी सँगै |
हरेक दिन

हरेक दिन
जिउने बहानामा
विष पिएर,
मर्दै जिउँदै छ,
जिउँदै मर्दै छ |
जीवन खियाउँदै छ
तर निष्कृय छ
गती सुन्य छ
उसको जीवन !

हरेक दिन
एक्लो
साथ केवल एस्ट्रेको,
र विषको ठुटाको
उसको सहयात्रा |

ऊ सधैँ तानिरहन्छ
कारण थाहा छैन
सायद जिउन
तर मिर्त्युवरण गरिरहेछ
तै पनि जसोतसो
जीवन धानिरहन्छ
विष तानिरहन्छ |
जिउँदो मृत्यु !!!
उसको सहयात्रा !!!

__________________________
लेखन मिति: २०६२-०६-१५, झापा, नेपाल 


Wednesday, March 21, 2012

कविता रोइरह्यो

मैले कविता लेखेँ
तर कबिता लेखिएन 
कविता केवल रोइरह्यो |
छटपटाईरह्यो 
मैले कलम चलाइरहें  
कविता आफ्ना बेदना पोखिरह्यो |
मैले नरुन आग्रह गरेँ 
तर उसले मानेन 
न त संघर्ष नै गर्यो 
केवल रोहिरह्यो |

म चाहन्थेँ
कविता भेल बनेर उर्ल्योस 
क्रान्ति बनेर जागोस्
अनि बारुद बनेर बिस्फोट होस् |
अन्यायको विरुद्ध 
अत्याचारको विरुद्ध 
तर उसले मानेन 
केवल रोहिरह्यो |

मैले कवितालाई रुनुको कारण सोधेँ 
तर ऊ डरायो 
आत्तियो र करायो 
तर साँचो बताएन |
मैले नडराउन अनुरोध गरेँ 
नडग्न अनुरोध गरेँ 
उसले खुकुरीको चोटको कथा सुनायो 
गोलि र बारुदको कथा सुनायो 
तर मेरो कुरै मानेन 
केवल रोहिरह्यो |
कविता,
केवल रोहिरह्यो |

मैले कवितालाई 
अत्याचारिको विरुद्ध 
जाइलाग्न अनुरोध गरेँ |
परिवर्तनका लागि ब्युँझन आग्रह गरेँ |
तर कबिताले म संग
साहसको घुस माग्यो |
शब्दको घुस माग्यो |
मैले घुस दिन सकिन 
साहस बढाउनै सकिन |
त्यसैले उसले मेरो कुरै सुनेन 
न त संघर्ष नै गर्यो 
ऊ केवल रोहिरह्यो |
कविता रोहिरह्यो |||

लेखन मिति: २०६२/०१/२१ 

Friday, March 16, 2012

मनको बहकाउ मा

संसार अनौठो छ | मान्छेहरु अनौठा छन् | कसैलाई मायाको भोक छ | कसैलाई अनौठो सौख छ | मलाई माया गर्ने  मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहिँ जीवनसंग जल्ने हरु पनि धेरै भेटें मैले |
ला....मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केहि पनि थाहा छैन | तर मेरा मन बाट निस्किएका यि शब्दहरु यसै खेर जान्छन कि जस्तो लाग्छ | भोलि पर्सि डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ | "यसको असली मजा त यसैमा छ नि !" जस्तो पनि लाग्छ तर यी पानाहरु कति सिरक्षित रहलान भन्न सकिन्न |
म दोधार मा छु | 
होइन, दुइटा धार भए पो दोधार त ! यहाँ त अनगिन्ती धारहरु अगाडी तेर्सिएका छन् अब कति धार भन्ने ? धार परिचयको, धार आत्मसम्मानको, धार मायाको, धार धोकाको, धार उदेश्यको, धार प्राप्तिको, धार सम्झनाको, धार कल्पनाको, धार जीवनका कति कति | अब त दोधार नभनेर चौधार भन्दा पनि नमिल्ने पो भएछ |

सानो छदाँ ढुङ्गै  ढुङ्गा भएको खोलाका बगर पुग्दा संसारको सबै भन्दा सुखको ठाउँमा पुगे जस्तो लाग्थ्यो | किन त्यस्तो लाग्थ्यो मालाई थाहा छैन तर मेरो स्मरण शक्तिले भ्याए सम्म मेरो जीवन बगर बाटनै सुरु भएको हो |
मलाई याद भएको मेरो जीवनको पहिलो घटना, म मेरो बुवाको काँधमा बसेर खोला र बगर पार गर्दाको घटना |
म कत्रो र कस्तो थिएँ सम्झन्न तर म आँफुले होस् मा बाँचेको पहिलो जीवन त्यहि हो जुन बगरमा सुरु भयो |

आज त जीवन अर्कै छ | खुशी खोज्न पनि निकै टाढा जानुपर्छ जस्तो | हिजोका ति दिनहरु सम्झेर आनन्द लिनुको मज्जा पनि छुट्टै छ | तिनै सम्बन्धहरु आज आएर एकातिर थन्किएका छन् | नयाँ सम्बन्धहरु बने, टुक्रिए | फेरी बने अनि फेरी टुक्रिए कति कति ! केटाकेटी छदाँ चिउँडोमा बुढी औँला ठोकेर कट्टी गरि छ महिना सम्म नबोलेर, छ महिना पछी दुबैले एक अर्काको नामका अक्षरहरु पालै पालो उच्चारण गरेको भरमा सम्बन्ध फेरी जोडिए जस्तो यी सम्बन्धहरु जोडिंदा रहेनछन् | कति सम्बन्धहरु आफैँ प्रखाल भए, कति सम्बन्धहरुमा अरु कोहि प्रखाल बनेर उभिए | त्यसो त पुल पनि भएहोलान कोहि !

लेखन मिति: २ अप्रिल २००९, बिहिबार 
काठमाडौँ, नेपाल 

Friday, March 2, 2012

"गजल"


झुलायौ तिमीले र बुढो बनायौ |
भुलायौ तिमीले र बुढो बनायौ |

रहुन्जेल बैँसमा सधैँ आफुसंगै
डुलायौ तिमीले र बुढो बनायौ |

केश कालै थिए, कोपिलै थिएँ म
फुलायौ तिमीले र बुढो बनायौ |

लुकेकै सहि थिए मायाका कुरा
खुलायौ तिमीले र बुढो बनायौ |
                             
          मिति: ११ फाल्गुन २०६३

Thursday, March 1, 2012

म ईश्वर भएँ

मैले ढुंगालाई ईश्वर बनाएको अभिनय गरेँ
र ईश्वरलाई ढुङ्गो बनाइदिएँ |
अनि मनलाई ढुङ्गो बनाएँ
र फेरी त्यहि ढुंगाको पुजा गरेँ |
मैले ईश्वरको आशन जमाएँ
मैले प्रकृति माथी नियन्त्रण गरेँ |




बाख्रो ले मेरो लागि पाठो पाउँछ
कुखुराले मेरो लागि अण्डा पार्छ
कुकुरहरु, बिरालाहरु, भैँसीहरु
माछाहरु र रेशम किराहरु पनि
मेरै लागि जन्मिछन् |

मानौ उनीहरुको आफ्नु जीवन छैन
बाँच्ने, खेल्ने, र रमाउने |





मैले उनीहरु माथि आधिपत्य जमाएँ
र मेरो लागि जन्माएँ
अनि उपभोग गरेँ
ढुङ्गो भएर,
ईश्वर भएर
राक्षस भएर
मान्छे भएर ||

Tuesday, February 28, 2012

प्रतिक्षा


ला.....मो...
प्रतिक्षा !
धैरताको बाँध फुट्दैछ |
म सके सम्म जोगाउने प्रयास मा छु |
कुरूप बन्दै गरेका मान्छेहरु,
सड्दै गएको संस्कार,
भत्किदै गरेको देश को
एउटा कुनामा
म,
प्रतिक्षामा बसेको बर्षौ भयो |
यो बिचमा
म आफैँ कति चोटी भत्किएँ,
फेरी आफैलाई बनाएँ,
कति चोटी |
कति लामो...
प्रतिक्षा !
सायद आशाको अन्तिम सिमाना हुदैन,
मलाई उसैले बनायो
कति चोटी
र उभ्याइदियो यो कुनामा |
आज सम्म म उभिरहें,
चलमलाउने ठाउँ सम्म नपाई |
मेरो देशको
अनि मेरो
स्थिति एउटै छ,
इतिहास देखि |
म भित्र पनि धेरै चलखेल भयो देश !
तर म मा पनि कहिले परिवर्तन आएन |
सधैँ धैरता,
सधैँ आशा,
सधैँ सपना,
लामो प्रतिक्षा....
एउटै डर छ,
कतै अस्तित्व सिद्धिन्छ कि,
प्रतिक्षा सिद्धिनु पुर्बनै ?
आशा को सायद सिमाना हुदैन |
जीवन भरको आशा,
लामो प्रतिक्षा.....

मिति: 23rd January 2012( ९ माघ २०६८ )

कविता: "म कवि बन्ने थिएँ"

तिमीले बनाउन चाहेर
मलाई बिगार्यौ |
मलाई लाग्छ 
म बिग्रेकै थिईन |
प्रेम मा बहुलाउनु बिग्रनु होइन |

मैले हातको औँला काटेर 
तिमीलाई प्रेम पत्र लेखेँ 
रगतले 
तिमीले सम्झ्यौ 
म बिग्रिएँ |
प्रेम मा त जो पनि बहुलाउछ 
जब उसले प्रेम गर्ने प्रेमिका 
तिमी जस्तो हुन्छ |
पुर्णिमा मा जुन देखेर 
कुन मुर्ख रमाउदैन !
हजारौँ अवास्मती फूलहरुको माझमा 
एउटा गुलाफ देख्दा 
को आकर्षित हुँदैन !

तिमीले सम्झ्यौ म बिग्रिएँ 
र बनाउन खोज्यौ 
म झन बिग्रिएँ |

मलाई त्यसै छोडिदिनु पर्थ्यो तिमीले 
बिग्रेकै भए पनि के नै हुन्थ्यो र !
हदै भए म कवि बन्ने थिएँ |||

Monday, February 6, 2012

हाइजेनिक “लूट” र मेरो सन्दर्भ


                  
 “म आज भोलि धेरै हाइजेनिक भाको छु, अलिकति बढी उकालो चढ्न गाह्रो मान्दिन तर म मेरो नियमित स्थानमा भेज म:म: मात्र खान्छु |” दिल्ली बजार को उकालो चढ्दै उनले भने | मलाई औधि माया गर्ने[मलाई त्यस्तै लाग्छ] मेरा एक अग्रज दाई राम्रै भलाकुसारीको मूड मा थिए आज | उनले उनका एकजना सहकर्मी संग भएको भलाकुसारी को प्रसङ्ग बाट भलाकुसारी सुरु गरे |
उनको प्रस्न: ‘तपाइँ सौगात मल्ल चिन्नु हुन्छ ?”
उनका सहकर्मीको उत्तर: ‘चिन्दिन’
‘उनि हिट छन् नि अहिले’
“होर ?”
“तपाइँ दयाहांग राई चिन्नु हुन्छ”
“चिन्दिन”
“उनि पनि हिट छन् नि अहिले”
“होर ?”
“उनीहरु दुवै लूट फिल्म का हिरो हुन्, हाम्रो भाई पनि सौगात मल्ल जस्तै देखिन्छ”
“त्यस पछी उनी वाल्ल परे र ‘हँ, होर’ फेरी दोहोराए” भनेर उनि फिस्स हाँसे |
लौ, लूट ले पनि गज्जब काम गरेछ भन्ने मलाई लाग्यो | बजारमा पुराना मान्छे, पुराना ब्रान्ड मात्र बिक्रि हुन्छन् भन्ने धेरै मान्छेको बिचारलाई राम्रै संग भत्काउदै र’छ लूट ले | उनले हाइजेनिक म:म: पसल खोजे जस्तै अब धेरै दर्शक हाइजेनिक सिनेमा खोज्दै हल तिर धाउने भए भन्ने मलाई लाग्यो |
एकै छिन् पछी म:म: मुखमा हाल्दै उनि फेरी बोले “त्यस पछी मैले तिनलाई भने, कुनै स्थापित ब्रान्ड को नाम मा वा बच्चाहरुले खेलेको फिल्म भनेर बिज्ञापन गर्न छोड्नुस् | त्यस पछी मैले उनलाई मैले कल्पना गरेको पोस्टर को डीजाइन सुनाएँ | मलाई देखाउन उनले धेरै डीजाइन ल्याएका थिए तर चित्त बुज्दा कुनै थिएनन् | अति भएर होला संगै बसेका अर्का एकजना सहकर्मीले त ठाडै भने ‘ दर्शकले फिल्म मा एउटा फिगर खोज्छ सर, के तपाइले दोहोरि गीतको म्युजिक भिडियो को पोस्टर बनाउन खोजेको हो ?’..”

उनि भन्दै थिए “फिल्म राम्रो हुन कन्टेन्ट चाहिन्छ” | संग संगै लूट फिल्मको चर्चा पनि हुदै थियो | म पनि के कम ! कलाकार न परें | फिल्म नहेरेकै भए पनि साथीहरु बाट सुनेका र सोसियल साईट मा पढेका सबै जानकारी प्रयोग गरेर फिल्म हेरेकै अभिनय गर्दै, हो नै जस्तो गरेर मैले पनि साथ दिईरहें | ‘लूट’ नहेरेको मा भित्र भित्रै ग्लानि भईरहेको थियो | मन मनै सोचेँ “अब त लूट हेर्छु हेर्छु” |
सोचें, कति अरुको मात्र कुरो गर्नु ? अब आफ्नै केही कुरो उठाउनु पर्यो |
मैले पनि आफुलाई बिक्रीको लागी बजार मा राखेको धेरै भयो | थोरैले मात्र मलाई किने, तर जतिले किने, सक्दो उपभोग गरे | उनीहरुले जति धेरै उपभोग गरे, म उतिनै नयाँ र बलियो भएँ |
“दाई, सुन्नु न ! यो फिल्म चले पछी मैले दर्शक को गाली खाने सम्भावना कतिको छ ?”
मैले आफुलाई अलि तलै पारेर सोधेँ |
“हेर भाई” उनले भने, “यो फिल्म भनेको नयाँ प्रकारको मिठाइ हो जुन अन्त खोज्दा पाइदैन, त्यसैले यहि खान दर्शकलाई कर लाग्छ | मुभी कति चल्छ म अहिले भन्न सक्दिन तर यो कुरा लेखेर राख, तिमी चल्छौ”
मलाई के चाहियो र म पनि मक्ख ! लौ, महंगी बढेको बेलामा राम्रै बजार भाउ पाए के खोज्नु ?
आफुलाई सामान्य देखाउन मलाई एकछिन् गाह्रै पर्यो |
त्यस पछी सम्भावित प्रोजेक्ट को कुरा र प्रोजेक्ट आफुले गर्ने पक्का भएमा मलाई आफ्नु प्रोजेक्ट मा लिने पूर्ण आश्वासन दिदै म:म: को पैसो आफैले तिरे |
“ल भाई मलाई यो मार्केटिंग को बिषयमा यसो भन्दै गर है” पुतली सडक चोक नेर आए पछी उनले भने | म अलमल्ल परें | “तिमी र म मार्केटिंग को बिषयमा कुरो गर्न आको होइन त बाहिर ?” भने पछी उनि मज्जाले हाँसे | म पनि हाँसीदिएँ | हामी दुवै हाँस्यौँ |




Saturday, January 28, 2012

Beginning.

I just started my blog today. I will com up with my work and creative writings soon. I hope I will be able to work out with this.