Monday, December 2, 2013

म गुण्डा भएको दिन


छुटेकाहरुले हेर्नुहोला भनेर लिंक मात्र पोस्ट्या छु ! हेर्नुहोला फुर्सत मिलाएर !

कथा एक, अंक एक  (लिंक)
http://www.youtube.com/watch?v=R7ih_StCX5k#t=0

कथा-२, अंक-१ (लिंक)
http://www.youtube.com/watch?v=JXR4YBYIy48

कथा २ अंक ३ (लिंक)
http://www.youtube.com/watch?v=Wa3tJ6dJ5Wg


शुटिंगको दौरान स्याबास टिम !

Saturday, June 15, 2013

गजल

मन दिने, तन दिने, माया दिने दुइचार छन् !
घुर्क्याउने, फुर्क्याउने, फकाउने हजार छन् !


प्रेमीहरुको बजार छ, हुलमा मोलामोल छ !
किन्नेहरु थोरै, बरु बेच्ने मारामार छन् !


सधैँ कुरा अरुकै मात्र, आफैँ बिक्री भएको
देख्छन् तर लेख्दैनन्, कस्ता पत्रकार छन् !


छामोस मन, छामोस मुटु, मूल्य गरोस् अरुलेनै

आफ्नै मूल्य गर्ने त खोज सारा संसार छन् !


गोपाल अर्याल 
२०७०/०३/०१ 

Thursday, June 6, 2013

म बिक्रीमा छु


बिना बिज्ञापन नै
मैले आफ्नु पसल थापेंछु !
बेचिए पछि
मान्छेको बजारमा
बल्ल पो थाहा पाएँ |

धेरै भएछ
मैले आफ्नै पसल थापेको
आफैलाई बेचेको
तर म
आफु रित्तिएको पाइन
मक्किएको पाइन
बरु झन् बलियो पाएँ
झन् भरिँदै गएको पाएँ
लाग्ने छुरा पाएँ आफुलाई |
हेर त, तिमीले,
म मा खिया लागेको देख्यौ कतै ?
भुत्ते देख्यौ ?

पहिलो पल्ट,
मैले आफैँलाई बेच्दा
म कति भुत्ते थिएँ
मेरी पहिली क्रेता
ओहो क्या छुरा थिई 
त्यस पछि उसले नै मलाई
उद्यायी 
धार लगाई  म मा,
र धारिलो बनाई 
त्यस पछि
काटी आफैँलाई
धित मर्ने गरेर !
मैले पनि त मेरो धित मारेको थिएँ !
तर मन मारिन मैले !

त्यस पछि क्रमशः
दोस्री, तेस्री......
सयौँ क्रेताहरु
सबैले मलाई उद्याये
धारिलो बनाए
तेजिलो र भरिलो बनाए
उनीहरु उतिनै धारिलो हुँदै गए !
अनि त म कर्द बाट खुकुरी भएँ !
खुकुरी बाट तरबार !

एउटा आई 
मेरो मूल्य गररी 
मेरा सरिरका भागहरुको मुल्य तोकियो
मेरा हातहरु
मेरो मुख
मेरा खुट्टाहरु
मेरो मस्तिष्क
मेरो सरीरको मध्य भाग
हरेकले आफ्नु एम. आर. पी. तोकेछन्
सम्पूर्ण सरीरको पनि होलसेल मूल्य कायम भएछ !
एउटा रगत बाहेक |
बरु विर्य बेचें मैले |
त्यस पछि के चाहियो
हरेकले आफ्नु व्यापार गरे !
सक्ने सेवा गरे
आफ्नु आयु हुन्जेल
उनीहरु भुत्ते कहिले भएनन् !

तर समयले ठगेछ
थाहै नपाई !
मलाई र मेरा अंगहरुलाई
बजारमा नचल्ने बनाएछ !
ओहो समयले पो मलाई बेचेछ !
तर म हार्न चाहन्न
समय सँग !

लौन मुद्दा लड्न मिल्दैन हजुर
यो समयको बिरुद्धमा ?
म साच्चै हार्न चाहन्न !
म आँफुलाई बेचिरहन चाहन्छु
सधैँभरि 
साच्चै म बिक्रीमा छु !
तपाईं किन्नु हुन्छ ??


 लेखन मिति: २३ जेष्ठ २०७० 
स्थान: रत्नपार्क, काठमाडौँ !





Saturday, April 27, 2013

गजल


म हुँ घाम तिमी जुन सत्य धरोधर्म !
म सुनार तिमी सुन सत्य धरोधर्म !

आधा छु म, मात्र तिमी सँगै हुन्छु पुरा
म हुँ सब्जी तिमी नुन सत्य धरोधर्म !

तिमी छौ र पो मेरो ढुकढुकी चल्दैछ
म हुँ मुटु तिमी खुन सत्य धरोधर्म !

हामीलाई संगसँगै गाउँछन् यी मान्छे 
म हुँ गीत तिमी धुन सत्य धरोधर्म !

___________गोपाल अर्याल__________
__________मिति: ११ बैशाख २०७०_____

Sunday, April 21, 2013

कविता ! मलाई डिभोर्स नदेऊ !


कविता !!!
मलाई डिभोर्स नदेऊ !

म छट्पटाइरहेछु
किन टाढिन खोज्छौ ?
म त तिम्रो प्रेमी
तिम्रो साधक
म कदाचित पूर्ण हुनेछैन
तिमी बिना

आउ ! म सँग
हामी अथाह प्रेम गरौँला
थुप्रै सन्तान जन्माउँला |
यी हरिया बन पाखामा
हाम्रो माया मौलाउन पाओस् |
हावा सँगै उडुं
नदि सँगै बगौं !
हाम्रा सन्तानले संसार ढाक्नु पर्छ,
कविता !!!
मलाई डिभोर्स नदेऊ !

जीवनले मलाई ठग्दै गर्दा
म आफैँ मर्दै गर्दा
मैले तिमीलाई
जीवन दिएको थिइन र ?
म विक्षिप्तहुँदा पनि त
तिमी मात्र एक साहारा थियौ

कहिले तिमीले
मलाई बाँच्ने बहाना दियौ
कहिले मैले
तिमीलाई जीवन दिएँ |
ढुंगाको भर् माटो
माटोको भर् ढुङ्गो
हामी भएनौँ र ?

तिम्रा अनेक रुपहरु
सिँगारेको छु मैले
आफुलाई रित्याएर
तिमीमा खन्याएको छु
कति पल्ट !
बिर्सियौ ??

म अतित मात्र सँगालेर
बाँच्न सक्दिन
कविता !!!
मलाई डिभोर्स नदेऊ !!

_________गोपाल अर्याल________
________मिति: २०७०/०१/०८_____

Saturday, April 13, 2013

शीर्षक छैन !


ओहो मान्छे !
ऊ अचानक चिच्यायो
रमायो
र हाँस्यो !
मलाई पनि हाँस्न मन लागेको थियो
उसको भ्रम र मुर्खता देखेर
मैले त दैत्य देखेँ
खोई उसले कहाँ देख्यो मान्छे !
मैले सुनेको थिएँ
इतिहाँस
मेरो वंश हत्याको
म डराएँ !
मैले भनिन छु यसलाई
यी दैत्यहरु बारे 
एक जुग सँगै उभिदा पनि,
ऊ अझै यिनीहरुलाई
मान्छे भन्दो रहेछ !
डरले
मेरो सरीर काँप्यो
सरिरका पातहरु झरे
म नाङ्गिएँ !
म भाग्न चाहन्थे |
आज पहिलो पटक
मलाई सृस्टिकर्ता सँग रिस उठ्यो
मेरो खुट्टा जमिनमा गाडिदिएकोमा
मलाई खेद भयो
वृक्ष भएर जन्मनु परेकोमा |
म भाग्न सकिन
अनि तुरुन्तै उनीहरुले मलाई
एउटा लासमा परिवर्तन गरिदिए !

____________गोपाल अर्याल________
            २/१२/२०१३ 

Sunday, February 17, 2013

प्रजातन्त्र र म

आजभोली
मलाई अध्याँरो मन पर्न थालेको छ
प्रजातन्त्र,
लोकतन्त्र,
गणतन्त्र
जे भने पनि

स्वतन्त्रता देखि डराउन थालेको छु |
हिड्दै गर्दा कहिले
अध्याँरोमा
गन्हाउने टुकुचाको पुलमा
प्रजातन्त्र खोजिरहेका
जोडीहरु देख्छु
आलिंगनमा बाँधिएका |
कहिले प्रजातान्त खोज्दै
राँके जुलुस लाउँदै गरेका
बारुदहरु देख्छु
म डराउँछु
र भाग्छु फेरी
अध्याँरो तिर
लुक्न
यो प्रजातन्त्रले
मलाई खान्छा की
मलाई डर लाग्छ
र भाग्छु म
टाढा
प्रजातन्त्र देखि पर !
हे प्रजातन्त्र मलाई नतर्साउ
म त्यसै पनि
निर्दो र निरह
भइसकेको छु |
बरु अब हत्या गरिदेउ
र डर मुक्त बनाइदेउ !
म र तिमी
खुशी खुशी बाँच्न
नसक्ने भएछौँ ||

Friday, February 8, 2013

म र तिमी !

म गोरु हुँ
तिमी मान्छे
मलाई जोतेकी छौ तिमीले
आफ्नो लागि
आफ्नो बारीमा
प्रशस्त अन्न फलाउनु छ तिमीलाई
र आफ्नु बनाउनु छ |
अनि म ?
म त खेतका आलीसम्म चर्न पाउँदिन !
तिमी विरोध गरौली
तर नबिर्ष
तिमीले मेरो मुखमा मला लगाएको !
म गधा हुँ
तिमी मान्छे
मलाई बोकाएकी छौ तिमीले
आवस्यकताका तिम्रा भारीहरु
मैले आफैलाई बोक्न पाएको छैन
अहिले सम्म
तिम्रा आवस्यकताहरु बोक्दा बोक्दा
मेरो ढाड खुइलिएको तिमी नबिर्ष !
मलम लगाउने कुरा छोड
औषधिको नाममा
नुन खोर्सानी दलेकी छौ तिमीले बरु !
अनि सोच त
अहिले
यतिबेला आएर तिमी
प्रणय दिवसको कुरा गर्छौ ??




Tuesday, January 29, 2013

आशाको खडेरी (एउटा छोटो कविता)


नयाँ आशा पालेर 
हरेकदिन 
म 
नयाँ जीवन उमार्ने 
सपना बोकेर, 
भए सम्मको 
बल र विवेक प्रयोग गरेर,
बिउ रोप्छु 
तर......
खडेरी यति परेछ की 
बिउ कहिल्यै उम्रन सकेन 
बारी सधैँ बाँझै रहने भो !

______गोपाल अर्याल_____
______१६ माघ २०६९_____

Sunday, January 27, 2013

"अध्यारोमा जुनकिरी" एउटा छोटो कविता |


अध्याराहरुले आन्दोलन गरे 
अध्यारोको बिरुद्ध 
अध्यारोकै निम्ती 
अब तपाईं नै भन्नुस् 
यस्तो बेलामा 
आफ्नु अस्तित्व रक्षार्थ
जुनकिरीले 
सङ्घर्ष गर्छ या आत्महत्या ???

__________________
लेखन मिति: २०६४ बैशाख 
"अध्यारो बिरुद्ध" पुर्वान्चल यात्रामा लेखेको |

Wednesday, January 23, 2013

Shaking The Tree, News Publish






झापा दमकमा Shaking The Tree, अभियानको बारेमा लेखिएका समाचारहरु.....! पढिदिनु भएको मा धन्यवाद !!

गजल

भयो अब चै अल्झिन चाहन्न |
म पनि भो माया दिन चाहन्न |

नयाँ बाटो पो अघि बनाउनु छ 
अतितमा म मिसिन चाहन्न |

तिम्रै मान्छे थिएँ, सोच तिमी नै 
तिमी नै आज म किन चाहन्न ?

सपना भाँचिएला भन्ने डर छ 
कम्जोर पिंगमा मचिन चाहन्न ||

Saturday, January 12, 2013

गजल

मुर्दाहरू पालेर देश कहाँ बन्छ ?
राम्रा मान्छे फालेर देश कहाँ बन्छ ?

पगालेर ढुंगा, सुन बनाउन खोज्छौ
जनआवाज टालेर देश कहाँ बन्छ ?

सब्जी पकाउनु जस्तो सोच्छौ सजिलो
नुन मसला हालेर देश कहाँ बन्छ ?

नौलो विचार छैन, नयाँ उमङ्ग छैन
थोत्रा पाइला चालेर देश कहाँ बन्छ ?

Sunday, January 6, 2013

पुरातनवादी सुर्य

आजभोली म हरेक बिहान
पश्चिम फर्किएर हेर्छु
सुर्य उदाउँछ की भनेर
तर ऊ कहिल्यै पश्चिम बाट उदाएन |

हामी कति बद्ली सक्यौँ
आफुलाई आधुनिक बनाउन
हामीले कति कुरा छोडी सक्यौँ
धर्म छोड्यौँ
संस्कृती छोड्यौँ
भाषा छोड्यौँ
जुन आफ्नो पना हो, छोड्यौँ
साच्चै भन्दा
हामीले आफैँलाई छोड्यौँ
हामी यत्रो परिवर्तन भइसक्यौं
तर म छक्क पर्छु
यो सुर्य भने अझै पूर्वबाटै उदाउँछ |

यहाँ स्त्रीहरु गर्भिणी हुन मान्दैनन्
पुरुषहरु आमा चिन्दैनन्
हामीले फुलहरु चुँडेर
ढुंगा रोपी सक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पूर्वबाटै उदाउँछ?

हामीले पछौटेको दाग
मेटाउन लाग्दा लाग्दै
हामीमा भएको "मान्छे" को
नाम मेटाइसक्यौँ
तर म छक्क पर्छु
चन्द्रमा अझै उही दाग लिएर हिन्छ
ऊ पनि उसै गरि उही रितमा उदाउँछ
र अस्ताउँछ |

हामीले आफ्नु अस्तित्व त्यागेर
आफुलाई अरुमा बिलिन गराईसक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पुर्व बाटै उदाउँछ?
आखीर ऊ पनि पुरातन वादी न पर्यो ||


    ____________गोपाल अर्याल____________
___________लेखन मिति: १३ भदौ २०६९_________
   ____________29th August 2012________



खैंराती एक अंश

समयले घण्टा हान्दै जान्छ
हामी आफ्नु बाल्यकाल गुमाउदै जान्छौँ |

जुन बेला पढ्नु पर्छ
त्यो बेला बुद्दी आउँदैन |

जुन बेला बुद्दी आउँछ
ढिलो भइसकेको हुन्छ |

हाम्रा बा-आमाले शिक्षकलाई कहिले बुझेनन्
शिक्षकले विद्यार्थीलाई र हामीले बिद्ध्यालाई कहिले बुझेनौँ |||


Saturday, January 5, 2013

यात्रा कथा


'ग्रीन हाउस होटेल, लालगढ' लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन | यो केटोले महिला शौचालय किन खोज्यो भनेर मेरो नियत माथी संका गर्नुहोला फेरी, मेरो पछि पछि मेरी महिला साथी थिइन् उनको लागि पनि शौचालय पहिलो आवश्यकता थियो त्यतिखेर | एकछिन् उनलाई वरै उभ्भिन लगाएर मैले यसो नजर घुमाएपछि ढोका बन्द गर्न मिल्ने दुई कोठे शौचालय फेला पारें तर त्यहाँ पुग्न केटाहरुको पम्पिसेट लाइन हुदै जानु पर्थ्यो | हेर्दिन भन्दा पनि त्यो दृश्य देखिन्थ्यो | अवस्था देख्दा सारै रिष उठ्यो तर यात्रामा यस्तै हो | सधैलाई होइन भनेर चित्त बुझाएँ अनि मेरी महिला साथीलाई ती केटाहरुको माझबाट स्कर्टिंग गराएर बन्दकोठे शौचालय सम्म पुर्याएँ अनि आफु पनि लागेँ भित्ता तिर | लौ अब ढुक्क भयो | भुँडी-भण्डार खालि गर्दाको आनन्द त मैले बखान गरिरहनै नपर्ला | हाम्रो शरीर एउटा फिल्टर मात्र हो जस्तो लाग्छ कहिले काहिँ मलाई | माथिबाट भर्यो तल बाट खालि हुन्छ, निरन्तर | फरक यत्ति हो फिल्टरबाट चुहिने पानी सफा र पवित्र मानिन्छ तर सरीर बाट चुहिने अपवित्र |
    
   अब फिल्टर खालि भएपछि भर्नु पनि त पर्यो | मेरी साथीले भात नखाने निर्णय सुनाईन् | मलाई जस्तै भए पनि भात नभई नहुने, भाते म | नाम मात्रको भए पनि मलाई नेपाली खाना चाहिन्छ | यात्रामा बाटामा खुवाइने खाना अत्यन्त तल्ल्लो स्तरको हुन्छ भन्ने जान्दा जान्दै म त्यहि खान भातघरमा छिरेँ | मेरी साथी चाउचाउ अन्डा खाना भन्दै नजिकै रहेको भातघर बाहिरको एउटा पसलमा छिरिन् | खानाको भाउ नसोधीकन खाना खान बसेँ | छरपष्ट घिनलाग्दो देखिने खाना र केहि नाम मात्रका तरकारी र अचार हालेको एउटा ठुलो थाल ल्याएर एउटा केटोले मेरो अगाडी टेबलमा फ्याकेर हिड्यो | निरिह कुकुर जस्तो फ्याकेको खाना टिप्नु सिवाय अरु उपाय थिएन त्यहाँ | केटो फेरी आयो र एउटा कचौरो राखेर हिडिसकेको थियो, मैले सोधिहालेँ "के हो यो?" "मासु" उसले उत्तर दियो | यसो कचौरामा हेरेँ | नबास्ने कुखुराका केहि खिन्लाग्दा अंगहरु त्यसैको झोलमा उत्रिरहेका थिए | खाने खालको मासु त्यसमा थिएन | 'म खान्न' भन्छु भनेर केटो तिर हेरेँ, केटो त हिडिसकेछ | छेउको टेबलमा गाडीका स्टाफहरु बसेका रहेछन् | "खाना कस्तो छ?" तिनै मध्ये एउटाले मलाई सोध्यो | मलाई ठुलो आवाजमा हाँस्न मन लागेको थियो तर हासिन | "यस्तो पनि मासु हुन्छ?" मैले भने | "बाहिर हिड्दा बाटामा मासुसासु खाने नै होइन नी तपाइलाई थाहै रै'नछ" उसले भन्यो | मैले उसका भाग तिर हेरेँ, ऊ फ्राईड चिकेन खादै थियो | रिसाउनु व्यर्थ थियो म फेरी हासिदिएँ | कचौरा आफ्नु भागबाट अलि पर सारिदिएँ अनि भागमा जे थियो (राम्रो सँग हेर्दा पनि नहेरी) छिटो छिटो खाएँ |

  काउन्टरको टेबल माथी बसेर होटल साहु पैसा उठाउदै रहेछ |
"कति हो दाई?"

"एक सय नब्बे |"

"एकसय नब्बे?"

"सादाखाना हो की मासुखाना?"

"सादा |"

"एकसय तिस दिनुस् |"

"अनि अगी किन एक सय नब्बे भनेको त? मान्छेलाई त्यसै तर्साउने?"

"मासुखाना हो की भनेर नी |"

"तेरो बाउ! साला, पहिल्यै सादाखाना हो की मासुखाना हो सोध्न सक्दैन थिईस्" भन्न मन लागेको थियो | "यहाँ यस्तै हो, दिनेले दिहाल्छ" भन्ठानेर चुप लागेर पैसो दिएर बाहिर निस्किएँ |
   
   बाहिर साथी पसलवाला सँग झगडा गर्दै रहिछन् |
"के भयो र?" मैले मेरी साथीलाई सोधेँ | "घिनलाग्दो चाउचाउ, कसरी खानु यस्तो?" उनले एकैपटक रिस र घिन मान्दै भनिन | "बाटामा हिड्दा यस्तै हो घरमा गएर मिठो खाउँला" मैले भने | फेरी उनले भनिन, "मलाई त उल्टी आउला जस्तो भयो, खान सक्दिन यो त" |
 "के खान्छौ त?" मैले सोधेँ | "बरु एउटा अन्डा खानु पर्यो | त्यो त उसिन्ने मात्र हो नी यिनीहरुले, बनाउने त कुखुराले हो" उनले भनिन | म मुस्कुराएँ |

"भाई अन्डा देउ त एउटा, कति हो एउटाको?"

अन्डा दिदै "बीस रुपियाँ"

"आम्मामा बीस रुपीयाँ? तिमीहरु त लुट्नै बसेका र'छौ नी? एउटा अन्डाको आठ रुपीयाँ पर्छ | उसिनेको मात्रै बाह्र रुपियाँ लिने? भाई अलि अलि पो नाफा खानु त हो |" आफु भन्दा सानु देखेकोले र उसका मान्छेहरु वरपर नदेखेकोले मलाई अलिकति आँट आयो र भनिहाँले |

"लुट्न बसेको, भन्न सजिलो छ दाजु | हाम्रो समस्या कस्ले बुझ्छ?"

लौ के चै समस्या र'छ त ? म पनि उत्सुक मान्छे फेरी उसले पनि 'दाजु' आदरार्थी लगाएर सम्मान पुर्वक दुख पोखेकाले सोधिहालौँ न त भन्ने मन मा आयो |

"के छ र भाई त्यस्तो समस्या?"

"एउटा गाडीलाई महिनाको पन्ध्रसय रुपियाँ दिनु पर्छ | यहाँ तेईस वटा गाडी आउछन् | अनि महँगो नबेचे कसरी टिक्ने यहाँ?"

"अनि गाडीले यति जना मान्छे ल्याउनु पर्ने भन्ने छ?" मैले अरु उत्सुकता देखाएँ |

"गाडी खालि आवस वा भरि केहि मतलव हुदैन, पुरा पैसा दिनु पर्छ"

"अनि त्यो होटेलवालाले पनि पैसा दिन्छ?"

"दिन्छ | एउटा गाडीलाई दिनको हजार रुपियाँ दिन्छ"

 लौ देशको संस्कार यहाँ पनि राम्रै सँग बसेको रहेछ | आफ्नु देशको संस्कार तोड्नु त राष्ट्रियता छोड्नु बराबर हो सायद | गाडीले किन अन्य विकल्प नभएको, एउटा मात्र होटेल भएको ठाउँमा लगेर रोक्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा पाइयो आज | यात्रीहरुलाई कुनै विकल्प नहोस् ताकी जस्तो पनि खाना खान उनीहरु तयार हुन्छन् भन्ने कुविचार मनमा राखेरै एकान्त ठाउँमा एउटा मात्र भातघर बनाइँदो रहेछ | यस्ता ठाउँहरुमा कसैको ध्यान जाँदैन | सबै आफ्नो आफ्नो क्षणिक स्वार्थ र लूच्छाचुडी मै ब्यस्त छन् | म निरिह छु | हाम्रा नेता निरिह छन् | सबै निरिह निरिह | निरीहता हाम्रो दैनिकी |
   
  अब सराप्नु बाहेक अरु कुनै उपाय थिएन त्यहाँ | सराप्नु पनि अर्थहीन लाग्यो | मेरी साथीले अन्डा खाइसकेकी थिईन | अब त्यहाँ बसिरहनु आवस्यक थिएन | माँगे जति पैसो दिएर हामी बाहिर निस्कियौँ | त्यो कथा त्यहिँ सकियो |