Wednesday, March 21, 2012

कविता रोइरह्यो

मैले कविता लेखेँ
तर कबिता लेखिएन 
कविता केवल रोइरह्यो |
छटपटाईरह्यो 
मैले कलम चलाइरहें  
कविता आफ्ना बेदना पोखिरह्यो |
मैले नरुन आग्रह गरेँ 
तर उसले मानेन 
न त संघर्ष नै गर्यो 
केवल रोहिरह्यो |

म चाहन्थेँ
कविता भेल बनेर उर्ल्योस 
क्रान्ति बनेर जागोस्
अनि बारुद बनेर बिस्फोट होस् |
अन्यायको विरुद्ध 
अत्याचारको विरुद्ध 
तर उसले मानेन 
केवल रोहिरह्यो |

मैले कवितालाई रुनुको कारण सोधेँ 
तर ऊ डरायो 
आत्तियो र करायो 
तर साँचो बताएन |
मैले नडराउन अनुरोध गरेँ 
नडग्न अनुरोध गरेँ 
उसले खुकुरीको चोटको कथा सुनायो 
गोलि र बारुदको कथा सुनायो 
तर मेरो कुरै मानेन 
केवल रोहिरह्यो |
कविता,
केवल रोहिरह्यो |

मैले कवितालाई 
अत्याचारिको विरुद्ध 
जाइलाग्न अनुरोध गरेँ |
परिवर्तनका लागि ब्युँझन आग्रह गरेँ |
तर कबिताले म संग
साहसको घुस माग्यो |
शब्दको घुस माग्यो |
मैले घुस दिन सकिन 
साहस बढाउनै सकिन |
त्यसैले उसले मेरो कुरै सुनेन 
न त संघर्ष नै गर्यो 
ऊ केवल रोहिरह्यो |
कविता रोहिरह्यो |||

लेखन मिति: २०६२/०१/२१ 

Friday, March 16, 2012

मनको बहकाउ मा

संसार अनौठो छ | मान्छेहरु अनौठा छन् | कसैलाई मायाको भोक छ | कसैलाई अनौठो सौख छ | मलाई माया गर्ने  मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहिँ जीवनसंग जल्ने हरु पनि धेरै भेटें मैले |
ला....मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केहि पनि थाहा छैन | तर मेरा मन बाट निस्किएका यि शब्दहरु यसै खेर जान्छन कि जस्तो लाग्छ | भोलि पर्सि डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ | "यसको असली मजा त यसैमा छ नि !" जस्तो पनि लाग्छ तर यी पानाहरु कति सिरक्षित रहलान भन्न सकिन्न |
म दोधार मा छु | 
होइन, दुइटा धार भए पो दोधार त ! यहाँ त अनगिन्ती धारहरु अगाडी तेर्सिएका छन् अब कति धार भन्ने ? धार परिचयको, धार आत्मसम्मानको, धार मायाको, धार धोकाको, धार उदेश्यको, धार प्राप्तिको, धार सम्झनाको, धार कल्पनाको, धार जीवनका कति कति | अब त दोधार नभनेर चौधार भन्दा पनि नमिल्ने पो भएछ |

सानो छदाँ ढुङ्गै  ढुङ्गा भएको खोलाका बगर पुग्दा संसारको सबै भन्दा सुखको ठाउँमा पुगे जस्तो लाग्थ्यो | किन त्यस्तो लाग्थ्यो मालाई थाहा छैन तर मेरो स्मरण शक्तिले भ्याए सम्म मेरो जीवन बगर बाटनै सुरु भएको हो |
मलाई याद भएको मेरो जीवनको पहिलो घटना, म मेरो बुवाको काँधमा बसेर खोला र बगर पार गर्दाको घटना |
म कत्रो र कस्तो थिएँ सम्झन्न तर म आँफुले होस् मा बाँचेको पहिलो जीवन त्यहि हो जुन बगरमा सुरु भयो |

आज त जीवन अर्कै छ | खुशी खोज्न पनि निकै टाढा जानुपर्छ जस्तो | हिजोका ति दिनहरु सम्झेर आनन्द लिनुको मज्जा पनि छुट्टै छ | तिनै सम्बन्धहरु आज आएर एकातिर थन्किएका छन् | नयाँ सम्बन्धहरु बने, टुक्रिए | फेरी बने अनि फेरी टुक्रिए कति कति ! केटाकेटी छदाँ चिउँडोमा बुढी औँला ठोकेर कट्टी गरि छ महिना सम्म नबोलेर, छ महिना पछी दुबैले एक अर्काको नामका अक्षरहरु पालै पालो उच्चारण गरेको भरमा सम्बन्ध फेरी जोडिए जस्तो यी सम्बन्धहरु जोडिंदा रहेनछन् | कति सम्बन्धहरु आफैँ प्रखाल भए, कति सम्बन्धहरुमा अरु कोहि प्रखाल बनेर उभिए | त्यसो त पुल पनि भएहोलान कोहि !

लेखन मिति: २ अप्रिल २००९, बिहिबार 
काठमाडौँ, नेपाल 

Friday, March 2, 2012

"गजल"


झुलायौ तिमीले र बुढो बनायौ |
भुलायौ तिमीले र बुढो बनायौ |

रहुन्जेल बैँसमा सधैँ आफुसंगै
डुलायौ तिमीले र बुढो बनायौ |

केश कालै थिए, कोपिलै थिएँ म
फुलायौ तिमीले र बुढो बनायौ |

लुकेकै सहि थिए मायाका कुरा
खुलायौ तिमीले र बुढो बनायौ |
                             
          मिति: ११ फाल्गुन २०६३

Thursday, March 1, 2012

म ईश्वर भएँ

मैले ढुंगालाई ईश्वर बनाएको अभिनय गरेँ
र ईश्वरलाई ढुङ्गो बनाइदिएँ |
अनि मनलाई ढुङ्गो बनाएँ
र फेरी त्यहि ढुंगाको पुजा गरेँ |
मैले ईश्वरको आशन जमाएँ
मैले प्रकृति माथी नियन्त्रण गरेँ |




बाख्रो ले मेरो लागि पाठो पाउँछ
कुखुराले मेरो लागि अण्डा पार्छ
कुकुरहरु, बिरालाहरु, भैँसीहरु
माछाहरु र रेशम किराहरु पनि
मेरै लागि जन्मिछन् |

मानौ उनीहरुको आफ्नु जीवन छैन
बाँच्ने, खेल्ने, र रमाउने |





मैले उनीहरु माथि आधिपत्य जमाएँ
र मेरो लागि जन्माएँ
अनि उपभोग गरेँ
ढुङ्गो भएर,
ईश्वर भएर
राक्षस भएर
मान्छे भएर ||