Wednesday, March 21, 2012

कविता रोइरह्यो

मैले कविता लेखेँ
तर कबिता लेखिएन 
कविता केवल रोइरह्यो |
छटपटाईरह्यो 
मैले कलम चलाइरहें  
कविता आफ्ना बेदना पोखिरह्यो |
मैले नरुन आग्रह गरेँ 
तर उसले मानेन 
न त संघर्ष नै गर्यो 
केवल रोहिरह्यो |

म चाहन्थेँ
कविता भेल बनेर उर्ल्योस 
क्रान्ति बनेर जागोस्
अनि बारुद बनेर बिस्फोट होस् |
अन्यायको विरुद्ध 
अत्याचारको विरुद्ध 
तर उसले मानेन 
केवल रोहिरह्यो |

मैले कवितालाई रुनुको कारण सोधेँ 
तर ऊ डरायो 
आत्तियो र करायो 
तर साँचो बताएन |
मैले नडराउन अनुरोध गरेँ 
नडग्न अनुरोध गरेँ 
उसले खुकुरीको चोटको कथा सुनायो 
गोलि र बारुदको कथा सुनायो 
तर मेरो कुरै मानेन 
केवल रोहिरह्यो |
कविता,
केवल रोहिरह्यो |

मैले कवितालाई 
अत्याचारिको विरुद्ध 
जाइलाग्न अनुरोध गरेँ |
परिवर्तनका लागि ब्युँझन आग्रह गरेँ |
तर कबिताले म संग
साहसको घुस माग्यो |
शब्दको घुस माग्यो |
मैले घुस दिन सकिन 
साहस बढाउनै सकिन |
त्यसैले उसले मेरो कुरै सुनेन 
न त संघर्ष नै गर्यो 
ऊ केवल रोहिरह्यो |
कविता रोहिरह्यो |||

लेखन मिति: २०६२/०१/२१ 

No comments: