Saturday, October 13, 2012

टाउको

कहिल्यै नभरिने
असन्तुष्टिको एउटा भाँडो,
मान्छे |
एक, दुई, तीन, चार,
लमक लमक लमक लमक
अघि पछि
दायाँ बायाँ
लम्कन्छ लम्कन्छ
लम्किरहन्छ |
जब सम्म भरिन्न त्यो,
र खाली खाली फुट्छ
रित्तो...!
कोलाहल,
भिड,
अत्यास्,
तिर्खा,
सपना,
आशाको एउटा त्यान्द्रो |
थोपरिएको एउटा जिन्दगी |
सकी नसकी बोकेर
संसारका टाउकाहरु
टाउकामा एउटा संसार
कैयन संसारहरु
उचालेर,
टाउको फुटुन्जेल
असन्तुष्टी बोकेर,
सन्तुष्टी खोज्दै
दौडन्छ |
एउटा टाउको,
अर्को टाउकाको
सन्तुष्टी सँग असन्तुष्ट छ |
अर्को टाउको,
अर्को टाउकाको
असन्तुष्टी सँग सन्तुष्ट छ |
असन्तुष्ट टाउकाहरु,
असन्तुष्ट मनहरु,
बिचारहरु,
इर्श्याहरु,
लालचहरु,
सबै सबै एउटा भाडा हुन् |
जो कहिल्यै भरिन्न |
मान्छे.....
एउटा असन्तुष्ट टाउको !!!

________गोपाल अर्याल_______
लेखन मिति: २०६८-०२-०३, मैतीदेवी, काठमाडौँ |

No comments: