Thursday, December 20, 2012

अभियान अभियानको


"Shaking The Tree" एउटा अभियान यो| शाब्दिक अर्थ रुखलाई हलाउनु होला| हामी मान्छेहरु रुख भन्दा फरक र विकसित छैनौ की जस्तो लाग्छ कहिले काहिँ| कम्ति मा रुखले मान्छे र अन्य प्राणीलाई अक्सिजन दिन्छ, सितल छहारी र बास् दिन्छ तर मान्छे मा आजभोली संवेदना हराउदै गएको पाउँछु म | बेवास्ता, उदासिनता, नैराश्यता, दिक्दारी अहिलेका मान्छेहरुको अंग बनेका छन् जसले कहिले छोड्दैन! मान्छे व्यक्ति बादी बढी भयो| मलाई चै मान्छेको यो अवस्था देखेर नैराश्यता उत्पन्न हुन थालेको छ | अहिलेको  युवा पुस्ता र तिनका व्यवहार हेर्छु, मलाई देशको भविष्य माथी झन् चिन्ता बढ्छ | हामी सबै कुरा थाहा पाएर पनि थाहा नपाए जस्तो गर्छौ | समस्या त्यहिँ छ | त्यसैले हाम्रो यो अभियान को अर्थ हो त्यस्ता मानिसहरुलाई झक्झक्याउनु, सुतेकाहरुलाई उठाउनु |

   मानव अधिकार सम्बन्धि वृत्तचित्र लिएर देश दौडाहा गर्छु, सक्दो युवाहरुको मनस्थिति परिवर्तन गर्छु भनेर हिडेको ४ महिना भएछ | उपत्यका लगायत धादिंग, गोरखा, दोलखा, नुवाकोट, नवलपरासी र अहिले झापा सम्म आइपुग्दा मैले नैराश्यता भन्दा बढी प्रेरणा पाएको छु | धेरै युवाहरुले आफुलाई कार्यक्रमले सच्चिनै प्रभाव पारेको अनुभूति सुनाएका छन् मलाई | शिक्षकहरुले आफ्ना बिद्यार्थीहरको विचार र व्यवहारमा परिवर्तन आएको खुशी बाँडेका छन् म सँग र मेरो खुशी पनि त्यहिँ हो | मैले १०० जना युवाको अगाडी कार्यक्रम गर्दा सबैको मनस्थिति बदल्छु भनेर मलाई कहिले पनि लाग्दैन तर त्यसमा १० जनाले मात्र पनि आफुलाई परिवर्तन गर्ने बारेमा सोचे र गरे भने म आफुलाई सफल भएको ठान्दछु | केहि हुदै नहुनु भन्दा थोरै भए पनि हुनु धेरै राम्रो कुरा हो | समाज बदल्ने ठुलो सपना बोकेको अभियान हो यो | सक्दो धेरै ठाउँमा कार्यक्रम लैजाने योजना छ | झापा पछि लगत्तै बाग्लुंग, पर्वत र म्याग्दी जादैछौँ कार्यक्रम लिएर |
हामीले प्रसस्त पैसा व डलर भएर यो काम गरिरहेको होइन | हामीले यसमा पनि एउटा संस्कार बसाउन खोजेका छौ | हुनेखाने ले नहुनेलाई सहयोग गर्ने भन्ने | काठमांडौ र अन्य स्थानमा बोर्डिंग स्कूलमा पढ्ने भाई बहिनीहरुले उनीहरुकै उमेरका उनीहरुजस्तै तर गाउँमा बस्ने र हाम्रो कार्यक्रमको लागि खर्च बहन गर्न नसक्ने भाई बहिनीहरुको लागि सहयोग गर्छन् | हामी उनीहरुले सहयोग स्वरुप उठाएर दिएको रकमले गाउँ गाउँमा गएर न्युनतम खर्चमा कार्यक्रम गर्छौ | अभियानको सुरु देखिनै कार्यक्रमको संयोजनको जिम्मा लिएको छु | त्यसले एक किसिमको सक्ति र आँट प्रदान गरेको छ | 
      Human Rights Film Focus Nepal नाम दियौं हामीले संस्थालाई | मानव अधिकार सम्बन्धि संस्था भए पनि फिल्महरुलाई माध्यमको रुपमा प्रयोग गरेकोले यो अलिकति फरक खालको संस्था हो | कलालाई समाज रुपान्तरणको लागि प्रयोग गर्नु यसको अर्को बिशेषता हो |

  सबै ठाउँहरु आफु अनुकूल पक्कै हुदैनन् | हरेक ठाउँमा काम गर्दा केहि न केहि अफ्ठ्याराहरु आउँछन्, सामान्य हो | दमक, झापा पनि त्यसको अपवाद बन्न सकेन | युनिक कलेजका भाइबहिनीहरूले हिजो पौष ५ गते बिहिवार सहभागिता जानाए आज ६ गते मोडेल कलेजमा कार्यक्रम भयो| यो कार्यक्रमको मुख्य अभियान स्कूल/कलेजमा भए पनि आम समुदायको लागि पनि यसले उत्तिकै महत्व राख्छ | पुर्व योजना र सल्लाह अनुसार भोलि ७ गते सनिबार एउटा बौद्दिक प्रदर्शनी हुनेछ एस. एन. मार्केट भित्रको SCAF नेपाल नामक संस्थाको कार्यालयमा | आइतबारलाई आफुले बालापनमा पढेको स्कूल बाणी मा.वि. गुहावारीमा कार्यक्रम लैजाने योजना बनाएको छु |

   म थाक्न चाहन्न अहिले | म इमानदार भएर भन्छु म साच्चै समाज बदल्ने अभियानमा हिडेको छु | मलाई सहयोगी हातहरुको आवश्यकता छ | तपाइहरु कोहि हुनुहुन्छ् अलिकति बल लगाउन सक्ने, थोरै जिम्बेवारी लीन सक्ने | आफु, मात्र आफु बाट अलिकति माथी उठ्न सक्ने, हातमा हात मिलाउन सक्ने, हैसेमा होस्टे गर्न सक्ने भने कृपया खबर पाउँ | मैले गर्न सक्ने काम को लागि म हरदम हरदम तयार छु |



_____________गोपाल अर्याल_______________

______________२०६९/०९/०६________________

No comments: