Sunday, June 14, 2015

आत्मसमर्पण



                                             गोपाल अर्याल
हो हजुर !!
मलाई मुद्दा हाल्न मन छ
मेरै बिरुद्धमा

सत्य
मैले अपराध गरेको छु
एउटा स्वतन्त्र जीवन
जसलाई मैले मेरी श्रीमतीबनाएको छ
र कैद गरेको छु,
सम्बन्धको कारागारमा
मैले जबरजस्ती
सम्मोहित गरेको छु उसलाई
र बाध्य पारेको छु
म मात्रलाई प्रेम गर्न ।
अनि बाध्य पारेको छु आफैँलाई
उ मात्रलाई प्रेम गर्न ।
उसको  र आफ्नै समेत
स्वतस्फूर्त जाग्ने
स्वतन्त्र प्रेम माथि
अंकुस लगाएको छु मैले

हो हजुर !!
मैले अपराध गरेको छु
मेरो प्रेम र संसर्गबाट जन्मेको
एउटा स्वतन्त्र जीवन
जसलाई म मेरी छोरीभन्छु,
मध्यरातमा स्वतन्त्र भएर
जूनको शितलतामा टहल्न खोज्दा
मैले रोकेको छु उसलाई ।
उ स्वयम्ले मनपराएको प्रेम
गर्न र हुनबाट रोकेको छु,
अनि मेरो इच्छा अनुसार
कुनै एउटा पुरुषसँग
बलत्कृत हुन बाध्य बनाएको छु
हरेक दिन

हो हजुर !!
मैले अपराध गरेको छु ।
म स्वयम्लाई समेत
नांगै
सडकै सडक दौडिने मन हुँदा,
भीडमा मानिसहरुको
चिच्याएर रुन मन हुँदा,
एउटी सुन्दर स्त्रीलाई
अंगाल्न मन लाग्दा,
सम्भोगको प्रस्ताव गर्न मन लाग्दा
अनुमति दिएको छैन मैले
म आफैँलाई ।

त्यसैले भन्दै छु हजुर
मैले अपराध गरेको गरेको छु ।
आजै
अहिल्यै
मलाई मुद्धा हाल्न मन छ
मेरै विरुद्धमा ।

हो हजुर !!
मैले अपराध गरेको छु
धर्म बनाएर,
मन्दिर बनाएर
मैले युगौँ देखि
देवताहरुलाई बन्दि बनाएको छु
मन लाग्दी
उनहिरुको अनुहारको
प्लाष्टिक सर्जरी गरेको छु ।
आफ्नै सृष्टिकर्तालाई
म आफैँले सृष्टि गरे झैँ
हल्ला फिजाएको छु
अराजकता फैलाएको छु
र बन्दी बनाएको छु
आफैँलाई पनि

धर्मको नाममा,
संस्कारको नाममा
ब्यवस्थाको नाममा,
अनुशासनको नाममा,
सभ्यताको नाममा
एउटा डरलाग्दो कारागार भित्र
निसासिने गरि
थुनेको छु आफैँलाई

हो हजुर !!
मैले अपराध गरेको छु
सुधार्ने नाममा आफैँलाई
सभ्य देखाउन,
भ्लाद्मी प्रस्तुत हुन अरु सामु,
मान्छे बनाउन आफैलाई,
यी मान्छेहरु सँग
हो मा हो मिलाउन,
मैले आफैँलाई
यातना दिएको छु
पटक पटक !
आफैँलाई कहिले
बेहोस बनाएको छु ,
फेरि पानी छम्किएर
उठाएको छु ।
मानसिक विचलन आउने गरि
मैले सरापेको छु
आफैँलाई ।

हो हजुर !!
सबै भन्दा ठूलो त
म आफ्नै अपराधी हुँ ।
सत्य,
अब मलाई
अपराध गरिरहन मन छैन
त्यसैले भन्दैछु
आजै,
अहिल्यै
मलाई मुद्धा हाल्न मन छ
मेरै विरुद्धमा ।

1 comment:

Kamal Budha said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html