Wednesday, March 21, 2012

कविता रोइरह्यो

मैले कविता लेखेँ
तर कबिता लेखिएन 
कविता केवल रोइरह्यो |
छटपटाईरह्यो 
मैले कलम चलाइरहें  
कविता आफ्ना बेदना पोखिरह्यो |
मैले नरुन आग्रह गरेँ 
तर उसले मानेन 
न त संघर्ष नै गर्यो 
केवल रोहिरह्यो |

म चाहन्थेँ
कविता भेल बनेर उर्ल्योस 
क्रान्ति बनेर जागोस्
अनि बारुद बनेर बिस्फोट होस् |
अन्यायको विरुद्ध 
अत्याचारको विरुद्ध 
तर उसले मानेन 
केवल रोहिरह्यो |

मैले कवितालाई रुनुको कारण सोधेँ 
तर ऊ डरायो 
आत्तियो र करायो 
तर साँचो बताएन |
मैले नडराउन अनुरोध गरेँ 
नडग्न अनुरोध गरेँ 
उसले खुकुरीको चोटको कथा सुनायो 
गोलि र बारुदको कथा सुनायो 
तर मेरो कुरै मानेन 
केवल रोहिरह्यो |
कविता,
केवल रोहिरह्यो |

मैले कवितालाई 
अत्याचारिको विरुद्ध 
जाइलाग्न अनुरोध गरेँ |
परिवर्तनका लागि ब्युँझन आग्रह गरेँ |
तर कबिताले म संग
साहसको घुस माग्यो |
शब्दको घुस माग्यो |
मैले घुस दिन सकिन 
साहस बढाउनै सकिन |
त्यसैले उसले मेरो कुरै सुनेन 
न त संघर्ष नै गर्यो 
ऊ केवल रोहिरह्यो |
कविता रोहिरह्यो |||

लेखन मिति: २०६२/०१/२१ 

Friday, March 16, 2012

मनको बहकाउ मा

संसार अनौठो छ | मान्छेहरु अनौठा छन् | कसैलाई मायाको भोक छ | कसैलाई अनौठो सौख छ | मलाई माया गर्ने  मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहिँ जीवनसंग जल्ने हरु पनि धेरै भेटें मैले |
ला....मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केहि पनि थाहा छैन | तर मेरा मन बाट निस्किएका यि शब्दहरु यसै खेर जान्छन कि जस्तो लाग्छ | भोलि पर्सि डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ | "यसको असली मजा त यसैमा छ नि !" जस्तो पनि लाग्छ तर यी पानाहरु कति सिरक्षित रहलान भन्न सकिन्न |
म दोधार मा छु | 
होइन, दुइटा धार भए पो दोधार त ! यहाँ त अनगिन्ती धारहरु अगाडी तेर्सिएका छन् अब कति धार भन्ने ? धार परिचयको, धार आत्मसम्मानको, धार मायाको, धार धोकाको, धार उदेश्यको, धार प्राप्तिको, धार सम्झनाको, धार कल्पनाको, धार जीवनका कति कति | अब त दोधार नभनेर चौधार भन्दा पनि नमिल्ने पो भएछ |

सानो छदाँ ढुङ्गै  ढुङ्गा भएको खोलाका बगर पुग्दा संसारको सबै भन्दा सुखको ठाउँमा पुगे जस्तो लाग्थ्यो | किन त्यस्तो लाग्थ्यो मालाई थाहा छैन तर मेरो स्मरण शक्तिले भ्याए सम्म मेरो जीवन बगर बाटनै सुरु भएको हो |
मलाई याद भएको मेरो जीवनको पहिलो घटना, म मेरो बुवाको काँधमा बसेर खोला र बगर पार गर्दाको घटना |
म कत्रो र कस्तो थिएँ सम्झन्न तर म आँफुले होस् मा बाँचेको पहिलो जीवन त्यहि हो जुन बगरमा सुरु भयो |

आज त जीवन अर्कै छ | खुशी खोज्न पनि निकै टाढा जानुपर्छ जस्तो | हिजोका ति दिनहरु सम्झेर आनन्द लिनुको मज्जा पनि छुट्टै छ | तिनै सम्बन्धहरु आज आएर एकातिर थन्किएका छन् | नयाँ सम्बन्धहरु बने, टुक्रिए | फेरी बने अनि फेरी टुक्रिए कति कति ! केटाकेटी छदाँ चिउँडोमा बुढी औँला ठोकेर कट्टी गरि छ महिना सम्म नबोलेर, छ महिना पछी दुबैले एक अर्काको नामका अक्षरहरु पालै पालो उच्चारण गरेको भरमा सम्बन्ध फेरी जोडिए जस्तो यी सम्बन्धहरु जोडिंदा रहेनछन् | कति सम्बन्धहरु आफैँ प्रखाल भए, कति सम्बन्धहरुमा अरु कोहि प्रखाल बनेर उभिए | त्यसो त पुल पनि भएहोलान कोहि !

लेखन मिति: २ अप्रिल २००९, बिहिबार 
काठमाडौँ, नेपाल 

Friday, March 2, 2012

"गजल"


झुलायौ तिमीले र बुढो बनायौ |
भुलायौ तिमीले र बुढो बनायौ |

रहुन्जेल बैँसमा सधैँ आफुसंगै
डुलायौ तिमीले र बुढो बनायौ |

केश कालै थिए, कोपिलै थिएँ म
फुलायौ तिमीले र बुढो बनायौ |

लुकेकै सहि थिए मायाका कुरा
खुलायौ तिमीले र बुढो बनायौ |
                             
          मिति: ११ फाल्गुन २०६३

Thursday, March 1, 2012

म ईश्वर भएँ

मैले ढुंगालाई ईश्वर बनाएको अभिनय गरेँ
र ईश्वरलाई ढुङ्गो बनाइदिएँ |
अनि मनलाई ढुङ्गो बनाएँ
र फेरी त्यहि ढुंगाको पुजा गरेँ |
मैले ईश्वरको आशन जमाएँ
मैले प्रकृति माथी नियन्त्रण गरेँ |




बाख्रो ले मेरो लागि पाठो पाउँछ
कुखुराले मेरो लागि अण्डा पार्छ
कुकुरहरु, बिरालाहरु, भैँसीहरु
माछाहरु र रेशम किराहरु पनि
मेरै लागि जन्मिछन् |

मानौ उनीहरुको आफ्नु जीवन छैन
बाँच्ने, खेल्ने, र रमाउने |





मैले उनीहरु माथि आधिपत्य जमाएँ
र मेरो लागि जन्माएँ
अनि उपभोग गरेँ
ढुङ्गो भएर,
ईश्वर भएर
राक्षस भएर
मान्छे भएर ||

Tuesday, February 28, 2012

प्रतिक्षा


ला.....मो...
प्रतिक्षा !
धैरताको बाँध फुट्दैछ |
म सके सम्म जोगाउने प्रयास मा छु |
कुरूप बन्दै गरेका मान्छेहरु,
सड्दै गएको संस्कार,
भत्किदै गरेको देश को
एउटा कुनामा
म,
प्रतिक्षामा बसेको बर्षौ भयो |
यो बिचमा
म आफैँ कति चोटी भत्किएँ,
फेरी आफैलाई बनाएँ,
कति चोटी |
कति लामो...
प्रतिक्षा !
सायद आशाको अन्तिम सिमाना हुदैन,
मलाई उसैले बनायो
कति चोटी
र उभ्याइदियो यो कुनामा |
आज सम्म म उभिरहें,
चलमलाउने ठाउँ सम्म नपाई |
मेरो देशको
अनि मेरो
स्थिति एउटै छ,
इतिहास देखि |
म भित्र पनि धेरै चलखेल भयो देश !
तर म मा पनि कहिले परिवर्तन आएन |
सधैँ धैरता,
सधैँ आशा,
सधैँ सपना,
लामो प्रतिक्षा....
एउटै डर छ,
कतै अस्तित्व सिद्धिन्छ कि,
प्रतिक्षा सिद्धिनु पुर्बनै ?
आशा को सायद सिमाना हुदैन |
जीवन भरको आशा,
लामो प्रतिक्षा.....

मिति: 23rd January 2012( ९ माघ २०६८ )

कविता: "म कवि बन्ने थिएँ"

तिमीले बनाउन चाहेर
मलाई बिगार्यौ |
मलाई लाग्छ 
म बिग्रेकै थिईन |
प्रेम मा बहुलाउनु बिग्रनु होइन |

मैले हातको औँला काटेर 
तिमीलाई प्रेम पत्र लेखेँ 
रगतले 
तिमीले सम्झ्यौ 
म बिग्रिएँ |
प्रेम मा त जो पनि बहुलाउछ 
जब उसले प्रेम गर्ने प्रेमिका 
तिमी जस्तो हुन्छ |
पुर्णिमा मा जुन देखेर 
कुन मुर्ख रमाउदैन !
हजारौँ अवास्मती फूलहरुको माझमा 
एउटा गुलाफ देख्दा 
को आकर्षित हुँदैन !

तिमीले सम्झ्यौ म बिग्रिएँ 
र बनाउन खोज्यौ 
म झन बिग्रिएँ |

मलाई त्यसै छोडिदिनु पर्थ्यो तिमीले 
बिग्रेकै भए पनि के नै हुन्थ्यो र !
हदै भए म कवि बन्ने थिएँ |||

Monday, February 6, 2012

हाइजेनिक “लूट” र मेरो सन्दर्भ


                  
 “म आज भोलि धेरै हाइजेनिक भाको छु, अलिकति बढी उकालो चढ्न गाह्रो मान्दिन तर म मेरो नियमित स्थानमा भेज म:म: मात्र खान्छु |” दिल्ली बजार को उकालो चढ्दै उनले भने | मलाई औधि माया गर्ने[मलाई त्यस्तै लाग्छ] मेरा एक अग्रज दाई राम्रै भलाकुसारीको मूड मा थिए आज | उनले उनका एकजना सहकर्मी संग भएको भलाकुसारी को प्रसङ्ग बाट भलाकुसारी सुरु गरे |
उनको प्रस्न: ‘तपाइँ सौगात मल्ल चिन्नु हुन्छ ?”
उनका सहकर्मीको उत्तर: ‘चिन्दिन’
‘उनि हिट छन् नि अहिले’
“होर ?”
“तपाइँ दयाहांग राई चिन्नु हुन्छ”
“चिन्दिन”
“उनि पनि हिट छन् नि अहिले”
“होर ?”
“उनीहरु दुवै लूट फिल्म का हिरो हुन्, हाम्रो भाई पनि सौगात मल्ल जस्तै देखिन्छ”
“त्यस पछी उनी वाल्ल परे र ‘हँ, होर’ फेरी दोहोराए” भनेर उनि फिस्स हाँसे |
लौ, लूट ले पनि गज्जब काम गरेछ भन्ने मलाई लाग्यो | बजारमा पुराना मान्छे, पुराना ब्रान्ड मात्र बिक्रि हुन्छन् भन्ने धेरै मान्छेको बिचारलाई राम्रै संग भत्काउदै र’छ लूट ले | उनले हाइजेनिक म:म: पसल खोजे जस्तै अब धेरै दर्शक हाइजेनिक सिनेमा खोज्दै हल तिर धाउने भए भन्ने मलाई लाग्यो |
एकै छिन् पछी म:म: मुखमा हाल्दै उनि फेरी बोले “त्यस पछी मैले तिनलाई भने, कुनै स्थापित ब्रान्ड को नाम मा वा बच्चाहरुले खेलेको फिल्म भनेर बिज्ञापन गर्न छोड्नुस् | त्यस पछी मैले उनलाई मैले कल्पना गरेको पोस्टर को डीजाइन सुनाएँ | मलाई देखाउन उनले धेरै डीजाइन ल्याएका थिए तर चित्त बुज्दा कुनै थिएनन् | अति भएर होला संगै बसेका अर्का एकजना सहकर्मीले त ठाडै भने ‘ दर्शकले फिल्म मा एउटा फिगर खोज्छ सर, के तपाइले दोहोरि गीतको म्युजिक भिडियो को पोस्टर बनाउन खोजेको हो ?’..”

उनि भन्दै थिए “फिल्म राम्रो हुन कन्टेन्ट चाहिन्छ” | संग संगै लूट फिल्मको चर्चा पनि हुदै थियो | म पनि के कम ! कलाकार न परें | फिल्म नहेरेकै भए पनि साथीहरु बाट सुनेका र सोसियल साईट मा पढेका सबै जानकारी प्रयोग गरेर फिल्म हेरेकै अभिनय गर्दै, हो नै जस्तो गरेर मैले पनि साथ दिईरहें | ‘लूट’ नहेरेको मा भित्र भित्रै ग्लानि भईरहेको थियो | मन मनै सोचेँ “अब त लूट हेर्छु हेर्छु” |
सोचें, कति अरुको मात्र कुरो गर्नु ? अब आफ्नै केही कुरो उठाउनु पर्यो |
मैले पनि आफुलाई बिक्रीको लागी बजार मा राखेको धेरै भयो | थोरैले मात्र मलाई किने, तर जतिले किने, सक्दो उपभोग गरे | उनीहरुले जति धेरै उपभोग गरे, म उतिनै नयाँ र बलियो भएँ |
“दाई, सुन्नु न ! यो फिल्म चले पछी मैले दर्शक को गाली खाने सम्भावना कतिको छ ?”
मैले आफुलाई अलि तलै पारेर सोधेँ |
“हेर भाई” उनले भने, “यो फिल्म भनेको नयाँ प्रकारको मिठाइ हो जुन अन्त खोज्दा पाइदैन, त्यसैले यहि खान दर्शकलाई कर लाग्छ | मुभी कति चल्छ म अहिले भन्न सक्दिन तर यो कुरा लेखेर राख, तिमी चल्छौ”
मलाई के चाहियो र म पनि मक्ख ! लौ, महंगी बढेको बेलामा राम्रै बजार भाउ पाए के खोज्नु ?
आफुलाई सामान्य देखाउन मलाई एकछिन् गाह्रै पर्यो |
त्यस पछी सम्भावित प्रोजेक्ट को कुरा र प्रोजेक्ट आफुले गर्ने पक्का भएमा मलाई आफ्नु प्रोजेक्ट मा लिने पूर्ण आश्वासन दिदै म:म: को पैसो आफैले तिरे |
“ल भाई मलाई यो मार्केटिंग को बिषयमा यसो भन्दै गर है” पुतली सडक चोक नेर आए पछी उनले भने | म अलमल्ल परें | “तिमी र म मार्केटिंग को बिषयमा कुरो गर्न आको होइन त बाहिर ?” भने पछी उनि मज्जाले हाँसे | म पनि हाँसीदिएँ | हामी दुवै हाँस्यौँ |