Saturday, June 15, 2013

गजल

मन दिने, तन दिने, माया दिने दुइचार छन् !
घुर्क्याउने, फुर्क्याउने, फकाउने हजार छन् !


प्रेमीहरुको बजार छ, हुलमा मोलामोल छ !
किन्नेहरु थोरै, बरु बेच्ने मारामार छन् !


सधैँ कुरा अरुकै मात्र, आफैँ बिक्री भएको
देख्छन् तर लेख्दैनन्, कस्ता पत्रकार छन् !


छामोस मन, छामोस मुटु, मूल्य गरोस् अरुलेनै

आफ्नै मूल्य गर्ने त खोज सारा संसार छन् !


गोपाल अर्याल 
२०७०/०३/०१ 

Thursday, June 6, 2013

म बिक्रीमा छु


बिना बिज्ञापन नै
मैले आफ्नु पसल थापेंछु !
बेचिए पछि
मान्छेको बजारमा
बल्ल पो थाहा पाएँ |

धेरै भएछ
मैले आफ्नै पसल थापेको
आफैलाई बेचेको
तर म
आफु रित्तिएको पाइन
मक्किएको पाइन
बरु झन् बलियो पाएँ
झन् भरिँदै गएको पाएँ
लाग्ने छुरा पाएँ आफुलाई |
हेर त, तिमीले,
म मा खिया लागेको देख्यौ कतै ?
भुत्ते देख्यौ ?

पहिलो पल्ट,
मैले आफैँलाई बेच्दा
म कति भुत्ते थिएँ
मेरी पहिली क्रेता
ओहो क्या छुरा थिई 
त्यस पछि उसले नै मलाई
उद्यायी 
धार लगाई  म मा,
र धारिलो बनाई 
त्यस पछि
काटी आफैँलाई
धित मर्ने गरेर !
मैले पनि त मेरो धित मारेको थिएँ !
तर मन मारिन मैले !

त्यस पछि क्रमशः
दोस्री, तेस्री......
सयौँ क्रेताहरु
सबैले मलाई उद्याये
धारिलो बनाए
तेजिलो र भरिलो बनाए
उनीहरु उतिनै धारिलो हुँदै गए !
अनि त म कर्द बाट खुकुरी भएँ !
खुकुरी बाट तरबार !

एउटा आई 
मेरो मूल्य गररी 
मेरा सरिरका भागहरुको मुल्य तोकियो
मेरा हातहरु
मेरो मुख
मेरा खुट्टाहरु
मेरो मस्तिष्क
मेरो सरीरको मध्य भाग
हरेकले आफ्नु एम. आर. पी. तोकेछन्
सम्पूर्ण सरीरको पनि होलसेल मूल्य कायम भएछ !
एउटा रगत बाहेक |
बरु विर्य बेचें मैले |
त्यस पछि के चाहियो
हरेकले आफ्नु व्यापार गरे !
सक्ने सेवा गरे
आफ्नु आयु हुन्जेल
उनीहरु भुत्ते कहिले भएनन् !

तर समयले ठगेछ
थाहै नपाई !
मलाई र मेरा अंगहरुलाई
बजारमा नचल्ने बनाएछ !
ओहो समयले पो मलाई बेचेछ !
तर म हार्न चाहन्न
समय सँग !

लौन मुद्दा लड्न मिल्दैन हजुर
यो समयको बिरुद्धमा ?
म साच्चै हार्न चाहन्न !
म आँफुलाई बेचिरहन चाहन्छु
सधैँभरि 
साच्चै म बिक्रीमा छु !
तपाईं किन्नु हुन्छ ??


 लेखन मिति: २३ जेष्ठ २०७० 
स्थान: रत्नपार्क, काठमाडौँ !





Saturday, April 27, 2013

गजल


म हुँ घाम तिमी जुन सत्य धरोधर्म !
म सुनार तिमी सुन सत्य धरोधर्म !

आधा छु म, मात्र तिमी सँगै हुन्छु पुरा
म हुँ सब्जी तिमी नुन सत्य धरोधर्म !

तिमी छौ र पो मेरो ढुकढुकी चल्दैछ
म हुँ मुटु तिमी खुन सत्य धरोधर्म !

हामीलाई संगसँगै गाउँछन् यी मान्छे 
म हुँ गीत तिमी धुन सत्य धरोधर्म !

___________गोपाल अर्याल__________
__________मिति: ११ बैशाख २०७०_____

Sunday, April 21, 2013

कविता ! मलाई डिभोर्स नदेऊ !


कविता !!!
मलाई डिभोर्स नदेऊ !

म छट्पटाइरहेछु
किन टाढिन खोज्छौ ?
म त तिम्रो प्रेमी
तिम्रो साधक
म कदाचित पूर्ण हुनेछैन
तिमी बिना

आउ ! म सँग
हामी अथाह प्रेम गरौँला
थुप्रै सन्तान जन्माउँला |
यी हरिया बन पाखामा
हाम्रो माया मौलाउन पाओस् |
हावा सँगै उडुं
नदि सँगै बगौं !
हाम्रा सन्तानले संसार ढाक्नु पर्छ,
कविता !!!
मलाई डिभोर्स नदेऊ !

जीवनले मलाई ठग्दै गर्दा
म आफैँ मर्दै गर्दा
मैले तिमीलाई
जीवन दिएको थिइन र ?
म विक्षिप्तहुँदा पनि त
तिमी मात्र एक साहारा थियौ

कहिले तिमीले
मलाई बाँच्ने बहाना दियौ
कहिले मैले
तिमीलाई जीवन दिएँ |
ढुंगाको भर् माटो
माटोको भर् ढुङ्गो
हामी भएनौँ र ?

तिम्रा अनेक रुपहरु
सिँगारेको छु मैले
आफुलाई रित्याएर
तिमीमा खन्याएको छु
कति पल्ट !
बिर्सियौ ??

म अतित मात्र सँगालेर
बाँच्न सक्दिन
कविता !!!
मलाई डिभोर्स नदेऊ !!

_________गोपाल अर्याल________
________मिति: २०७०/०१/०८_____

Saturday, April 13, 2013

शीर्षक छैन !


ओहो मान्छे !
ऊ अचानक चिच्यायो
रमायो
र हाँस्यो !
मलाई पनि हाँस्न मन लागेको थियो
उसको भ्रम र मुर्खता देखेर
मैले त दैत्य देखेँ
खोई उसले कहाँ देख्यो मान्छे !
मैले सुनेको थिएँ
इतिहाँस
मेरो वंश हत्याको
म डराएँ !
मैले भनिन छु यसलाई
यी दैत्यहरु बारे 
एक जुग सँगै उभिदा पनि,
ऊ अझै यिनीहरुलाई
मान्छे भन्दो रहेछ !
डरले
मेरो सरीर काँप्यो
सरिरका पातहरु झरे
म नाङ्गिएँ !
म भाग्न चाहन्थे |
आज पहिलो पटक
मलाई सृस्टिकर्ता सँग रिस उठ्यो
मेरो खुट्टा जमिनमा गाडिदिएकोमा
मलाई खेद भयो
वृक्ष भएर जन्मनु परेकोमा |
म भाग्न सकिन
अनि तुरुन्तै उनीहरुले मलाई
एउटा लासमा परिवर्तन गरिदिए !

____________गोपाल अर्याल________
            २/१२/२०१३ 

Sunday, February 17, 2013

प्रजातन्त्र र म

आजभोली
मलाई अध्याँरो मन पर्न थालेको छ
प्रजातन्त्र,
लोकतन्त्र,
गणतन्त्र
जे भने पनि

स्वतन्त्रता देखि डराउन थालेको छु |
हिड्दै गर्दा कहिले
अध्याँरोमा
गन्हाउने टुकुचाको पुलमा
प्रजातन्त्र खोजिरहेका
जोडीहरु देख्छु
आलिंगनमा बाँधिएका |
कहिले प्रजातान्त खोज्दै
राँके जुलुस लाउँदै गरेका
बारुदहरु देख्छु
म डराउँछु
र भाग्छु फेरी
अध्याँरो तिर
लुक्न
यो प्रजातन्त्रले
मलाई खान्छा की
मलाई डर लाग्छ
र भाग्छु म
टाढा
प्रजातन्त्र देखि पर !
हे प्रजातन्त्र मलाई नतर्साउ
म त्यसै पनि
निर्दो र निरह
भइसकेको छु |
बरु अब हत्या गरिदेउ
र डर मुक्त बनाइदेउ !
म र तिमी
खुशी खुशी बाँच्न
नसक्ने भएछौँ ||

Friday, February 8, 2013

म र तिमी !

म गोरु हुँ
तिमी मान्छे
मलाई जोतेकी छौ तिमीले
आफ्नो लागि
आफ्नो बारीमा
प्रशस्त अन्न फलाउनु छ तिमीलाई
र आफ्नु बनाउनु छ |
अनि म ?
म त खेतका आलीसम्म चर्न पाउँदिन !
तिमी विरोध गरौली
तर नबिर्ष
तिमीले मेरो मुखमा मला लगाएको !
म गधा हुँ
तिमी मान्छे
मलाई बोकाएकी छौ तिमीले
आवस्यकताका तिम्रा भारीहरु
मैले आफैलाई बोक्न पाएको छैन
अहिले सम्म
तिम्रा आवस्यकताहरु बोक्दा बोक्दा
मेरो ढाड खुइलिएको तिमी नबिर्ष !
मलम लगाउने कुरा छोड
औषधिको नाममा
नुन खोर्सानी दलेकी छौ तिमीले बरु !
अनि सोच त
अहिले
यतिबेला आएर तिमी
प्रणय दिवसको कुरा गर्छौ ??