Saturday, April 27, 2013

गजल


म हुँ घाम तिमी जुन सत्य धरोधर्म !
म सुनार तिमी सुन सत्य धरोधर्म !

आधा छु म, मात्र तिमी सँगै हुन्छु पुरा
म हुँ सब्जी तिमी नुन सत्य धरोधर्म !

तिमी छौ र पो मेरो ढुकढुकी चल्दैछ
म हुँ मुटु तिमी खुन सत्य धरोधर्म !

हामीलाई संगसँगै गाउँछन् यी मान्छे 
म हुँ गीत तिमी धुन सत्य धरोधर्म !

___________गोपाल अर्याल__________
__________मिति: ११ बैशाख २०७०_____

Sunday, April 21, 2013

कविता ! मलाई डिभोर्स नदेऊ !


कविता !!!
मलाई डिभोर्स नदेऊ !

म छट्पटाइरहेछु
किन टाढिन खोज्छौ ?
म त तिम्रो प्रेमी
तिम्रो साधक
म कदाचित पूर्ण हुनेछैन
तिमी बिना

आउ ! म सँग
हामी अथाह प्रेम गरौँला
थुप्रै सन्तान जन्माउँला |
यी हरिया बन पाखामा
हाम्रो माया मौलाउन पाओस् |
हावा सँगै उडुं
नदि सँगै बगौं !
हाम्रा सन्तानले संसार ढाक्नु पर्छ,
कविता !!!
मलाई डिभोर्स नदेऊ !

जीवनले मलाई ठग्दै गर्दा
म आफैँ मर्दै गर्दा
मैले तिमीलाई
जीवन दिएको थिइन र ?
म विक्षिप्तहुँदा पनि त
तिमी मात्र एक साहारा थियौ

कहिले तिमीले
मलाई बाँच्ने बहाना दियौ
कहिले मैले
तिमीलाई जीवन दिएँ |
ढुंगाको भर् माटो
माटोको भर् ढुङ्गो
हामी भएनौँ र ?

तिम्रा अनेक रुपहरु
सिँगारेको छु मैले
आफुलाई रित्याएर
तिमीमा खन्याएको छु
कति पल्ट !
बिर्सियौ ??

म अतित मात्र सँगालेर
बाँच्न सक्दिन
कविता !!!
मलाई डिभोर्स नदेऊ !!

_________गोपाल अर्याल________
________मिति: २०७०/०१/०८_____

Saturday, April 13, 2013

शीर्षक छैन !


ओहो मान्छे !
ऊ अचानक चिच्यायो
रमायो
र हाँस्यो !
मलाई पनि हाँस्न मन लागेको थियो
उसको भ्रम र मुर्खता देखेर
मैले त दैत्य देखेँ
खोई उसले कहाँ देख्यो मान्छे !
मैले सुनेको थिएँ
इतिहाँस
मेरो वंश हत्याको
म डराएँ !
मैले भनिन छु यसलाई
यी दैत्यहरु बारे 
एक जुग सँगै उभिदा पनि,
ऊ अझै यिनीहरुलाई
मान्छे भन्दो रहेछ !
डरले
मेरो सरीर काँप्यो
सरिरका पातहरु झरे
म नाङ्गिएँ !
म भाग्न चाहन्थे |
आज पहिलो पटक
मलाई सृस्टिकर्ता सँग रिस उठ्यो
मेरो खुट्टा जमिनमा गाडिदिएकोमा
मलाई खेद भयो
वृक्ष भएर जन्मनु परेकोमा |
म भाग्न सकिन
अनि तुरुन्तै उनीहरुले मलाई
एउटा लासमा परिवर्तन गरिदिए !

____________गोपाल अर्याल________
            २/१२/२०१३ 

Sunday, February 17, 2013

प्रजातन्त्र र म

आजभोली
मलाई अध्याँरो मन पर्न थालेको छ
प्रजातन्त्र,
लोकतन्त्र,
गणतन्त्र
जे भने पनि

स्वतन्त्रता देखि डराउन थालेको छु |
हिड्दै गर्दा कहिले
अध्याँरोमा
गन्हाउने टुकुचाको पुलमा
प्रजातन्त्र खोजिरहेका
जोडीहरु देख्छु
आलिंगनमा बाँधिएका |
कहिले प्रजातान्त खोज्दै
राँके जुलुस लाउँदै गरेका
बारुदहरु देख्छु
म डराउँछु
र भाग्छु फेरी
अध्याँरो तिर
लुक्न
यो प्रजातन्त्रले
मलाई खान्छा की
मलाई डर लाग्छ
र भाग्छु म
टाढा
प्रजातन्त्र देखि पर !
हे प्रजातन्त्र मलाई नतर्साउ
म त्यसै पनि
निर्दो र निरह
भइसकेको छु |
बरु अब हत्या गरिदेउ
र डर मुक्त बनाइदेउ !
म र तिमी
खुशी खुशी बाँच्न
नसक्ने भएछौँ ||

Friday, February 8, 2013

म र तिमी !

म गोरु हुँ
तिमी मान्छे
मलाई जोतेकी छौ तिमीले
आफ्नो लागि
आफ्नो बारीमा
प्रशस्त अन्न फलाउनु छ तिमीलाई
र आफ्नु बनाउनु छ |
अनि म ?
म त खेतका आलीसम्म चर्न पाउँदिन !
तिमी विरोध गरौली
तर नबिर्ष
तिमीले मेरो मुखमा मला लगाएको !
म गधा हुँ
तिमी मान्छे
मलाई बोकाएकी छौ तिमीले
आवस्यकताका तिम्रा भारीहरु
मैले आफैलाई बोक्न पाएको छैन
अहिले सम्म
तिम्रा आवस्यकताहरु बोक्दा बोक्दा
मेरो ढाड खुइलिएको तिमी नबिर्ष !
मलम लगाउने कुरा छोड
औषधिको नाममा
नुन खोर्सानी दलेकी छौ तिमीले बरु !
अनि सोच त
अहिले
यतिबेला आएर तिमी
प्रणय दिवसको कुरा गर्छौ ??




Tuesday, January 29, 2013

आशाको खडेरी (एउटा छोटो कविता)


नयाँ आशा पालेर 
हरेकदिन 
म 
नयाँ जीवन उमार्ने 
सपना बोकेर, 
भए सम्मको 
बल र विवेक प्रयोग गरेर,
बिउ रोप्छु 
तर......
खडेरी यति परेछ की 
बिउ कहिल्यै उम्रन सकेन 
बारी सधैँ बाँझै रहने भो !

______गोपाल अर्याल_____
______१६ माघ २०६९_____

Sunday, January 27, 2013

"अध्यारोमा जुनकिरी" एउटा छोटो कविता |


अध्याराहरुले आन्दोलन गरे 
अध्यारोको बिरुद्ध 
अध्यारोकै निम्ती 
अब तपाईं नै भन्नुस् 
यस्तो बेलामा 
आफ्नु अस्तित्व रक्षार्थ
जुनकिरीले 
सङ्घर्ष गर्छ या आत्महत्या ???

__________________
लेखन मिति: २०६४ बैशाख 
"अध्यारो बिरुद्ध" पुर्वान्चल यात्रामा लेखेको |